काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुने बताएको छ । शुक्रबार अपरान्ह काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौंधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाई गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो ।
पार्टीका नेता चौंधरीलगायतलाई जेलबाट रिहाई गरे आफूहरु सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय गरिएको पार्टीका महासचिव रतन थापाले जानकारी दिए ।
पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३ सिटमा विजय हासिल गरेको छ ।
यसअघि सिके राउत नेतृत्वको जनमत पार्टीले पनि सरकारमा सहभागी हुने निर्णय गरेको छ । काठमाडौँमा पहिलो पटक बिहीबार बसेको केन्द्रीय समितिको बैठकले सरकारमा जाने निर्णय गरेको हो ।
जनमतले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ सिट जितेको छ । साथै, समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी पनि बनेको छ। सो पार्टीले समानुपातिकमा चार सिट पाएको छ।