काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ । सोमबार बिहान दोलखाको मतपरिणाम सार्वजनिक भएसँगै प्रतिनिधिसभातर्फ सबै क्षेत्रको नतिजा आएको हो।
दोलखामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्की निर्वाचित भए ।
निर्वाचन आयोगका अनुसार संसदमा १२ दलले प्रतिनिधित्व गरेका छन् भने पाँच जना स्वतन्त्र सांसद निर्वाचित भएका छन् ।
प्रतिनिधिसभामा कांग्रेस प्रत्यक्षतर्फ ५७ सिट प्राप्त गर्दै पहिलो पार्टी बनेको छ । यस्तै एमालेले ४४ सिटसहित दोस्रो र नेकपा माओवादी केन्द्रले १८ सिट जितेर तेस्रो स्थानमा छ ।
यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले ७–७ तथा लोसपाले ४ सिट जितेका छन् ।
यसैगरी नागरिक उन्मुक्ति पार्टीले ३ सिट जित्दा राष्ट्रिय जनमोर्चा, नेमकिपा र जनमत पार्टीले १–१ सिट जितेको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै स्वतन्त्र उम्मेदवारी दिएर ५ जना निर्वाचित भएको पनि आयोगले जनाएको छ ।