काठमाडौं । राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेता वाशुदेव पोखरेलले रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको भूमिका गैरकानुनी रहेको भन्दै आयोगमाथि पनि छानबिन गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै नेता पोखरेलले रवि लामिछानेले उम्मेदवारी दिने बेला नै नागरिकताबारे उजुरी परेको तर, त्यसलाई आयोगले वेवास्ता गरेर उम्मेदवारी दर्ता गरेको आरोप लगाउनुभएको छ ।
साथै, लामिछानेले अमेरिकी नागरिकता लिइसकेको अवस्थामा नेपालको नागरिकता स्वतः परित्याग भएको तर, पुरानै नागरिकताका आधारमा दल दर्ता र उम्मेदवारी दर्ता गरेर गैर कानुनी काम गरेको भन्ने विषयमा छानबिन गर्नुपर्ने स्पष्ट पार्नुभएको छ ।
‘विदेशी नागरिकता ग्रहण गरिसकेपछि नेपालको पहिलेको नागरिकता स्वतः खारेज हुने कानुनी व्यवस्था हुँदाहुँदै त्यसबारे परेको छानबिन वा कारबाहीमा ढिलाई हुनु कति सही छ ? त्यसको पछाडि कुन कारण वा दवावले काम गरेको छ ? के अझै उनको पुरानै नागरिकतालाई वैधता दिने र त्यसका आधारमा उनको उम्मेदवारी र उनले चुनावमा जीतेको सांसद पदलाई कायम राख्ने प्रयत्न त भईरहेको छैन ?’ पोखरेलले लेख्नुभएको छ, ‘यी सम्पूर्ण विषयहरुमा स्पष्टताको आवश्यकता छ । नत्र भने उक्त प्रश्नले सम्पूर्ण कानुन र व्यवस्थामा नै अन्यौल र भ्रम पैदा हुन गएको छ । पुरानो खारेज भईसकेको नागरिकताका आधारमा उनी चुनावमा उम्मेदवार बने र सांसद पनि चुनिए, त्यसलाई अब कानुनी रुपमा मान्यता दिन मिल्छ कि मिल्दैन ? त्यसबारे पनि स्थिति स्पष्ट हुनुपर्ने आवश्यकता छ ।’
रवि लामिछाने : वास्तविकता के हो ?
साथै, यदि उही पुरानो अवैध नागरिकतालाई प्रयोग गरेर उनको पार्टीलाई दर्ता गरिएको भए त्यसको कानुनी हैसियत के हुन्छ ? त्यसबारे पनि मैले उहाँले संविधान र कानुनका ज्ञाताहरुको ध्यानआकर्षित गराउनुभएको छ ।