काठमाडौं । वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने बहानामा करिब २४ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० बस्ने वर्ष २७ को रामकृष्ण आचार्य रहेका छन् । उनले सामाजिक संजाल फेसबुक/ह्वाट्सएप को माध्यमबाट पीडितहरूसँग सम्पर्क गरी कुराकानी गर्दै जाने क्रममा वैदेशिक रोजगारको सिललासिलामा कम्बोडियास्थित होटेल सेक्यूरिटि गार्डमा काम गरिरहेको छु, म तपाईंहरुलाई कम्बोडियाको आकर्षक तलव सुविधा सहितको सेक्यूरिटि गार्डमा काम मिलाई दिन्छु, भनी २३ लाख ९७ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
पीडितहरुलाई विश्वास दिलाएर उनले उक्त कामको लागि प्रोसेसिङ गर्नुपर्छ भनी नेपालमा रहेका विभिन्न ब्यक्तिहरुको नाममा सञ्चालित बैंक खातामा सो कम जम्मा गर्न लगाएका पाइएको छ ।
अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न आचार्यलाई जिल्ला प्रहरी कार्यालय, खोटाङको समन्वयमा पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।