काठमाडौं । समानुपातिकतर्फ हालसम्म ९८ लाख २१ हजार ५६१ मतगणना भएको छ । कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार (अनुमानित) रहेकोमा मंगलबार अपरान्हसम्म सो संख्यामा मतगणना भएको आयोगले जनाएको छ ।
करिब तीन लाख मत बदर भएको आयोगको अनुमान छ । हालसम्म सबैभन्दा धेरै नेकपा (एमाले) ले २६ लाख ४६ हजार ४४९ मत ल्याएको छ । दोस्रो नम्बरमा कांग्रेसले २५ लाख १५२ मत पाएको छ ।
तेस्रोमा नेकपा (माओवादी केन्द्र) रहेको छ। माओवादीले ११ लाख २८हजार ९०७ मत पाएको छ भने माओवादीको पछि पछि रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८५ हजार ८५७ मत ल्याएको छ ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५९ हजार ५३४ मत ल्याएको छ भने जनता समाजवादी पार्टी, नेपालले ३ लाख ७८ हजार १५० र जनमत पार्टीले ३ लाख ३६ हजार ३८ मत ल्याएका छन् ।
थ्रेस होल्ड कटाउन संघर्षरत नेकपा (एकीकृत समाजवादी) ले २ लाख ७७ हजार ५०३ मत ल्याएको छ । हालसम्म नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दल बन्ने मापदण्ड पूरा गरिसकेका छन्।
आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजारमा ३ लाख मत बदर हुँदा कूल सदर मत संख्या १ करोड ६ लाख ७० हजार हुन्छ । यो हिसाबले अब समानुपातिकतर्फ गन्न बाँकी मतको संख्या करिब ८ लाख रहेको छ ।