काठमाडौं । काठमाडौं थापाथलीस्थित वागमती नदी किनारका सुकुम्वासीहरुले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।
धेरै संख्यामा जम्मा भएका सुकुम्वासीहरुले आफूहरुलाई सुकुम्वासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा विरोध प्रदर्शन गरेका हुन् ।
महानगरपालिकाले सोमवार सुकुम्वासी बस्ती हटाउनका लागि डोजर लिएर गएपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो । महानगरपालिकाको कदमप्रति सुकुम्वासीहरुले प्रतिरोध गर्दा केही महानगर प्रहरीहरु घाइतेसमेत भएका थिए ।
नाराबाजीसहित महानगरपालिका पुगेका सुकुम्वासीहरुले महानगरपालिकाका प्रमुख बालेन्द्र साह बिरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले सुकुम्वासी एक हौँ, बालेन साह होसियार, सूचना आतंक बन्द गर लगायतका नाराबाजी गरेका थिए ।
‘भूमिहिन, सुकुम्वासी, अव्यवस्थित बसोवासी र स्ववासीका घर, टहरा जबरजस्ती हटाउनका लागि प्रकाशित सूचनाको बिरुद्ध बृहत खबरदारी -याली’ नाम दिइएको विरोध प्रदर्शनमा निधारमा कालोपट्टी बाँधेर प्रदर्शनकारी उपस्थित भएका थिए । सुकुम्वासी सम्बद्ध दुई दर्जनभन्दा बढी संघ, संगठन र मोर्चाहरुको नाममा विरोध प्रदर्शन भएको थियो ।
सोमबार थापाथलीस्थित सुकुम्बासी बस्तीका अबैध संरचना भत्काउन डोजरसहित पुगेको महानगरका प्रहरीहरुको टोलीसँग सुकम्बासीको झडप भएको थियो । सो क्रममा महानगरका ३४ नगर प्रहरीसहित ३६ जना घाइते भएका थिए ।
घाइतेहरुलाई तत्कालै थापाथलीस्थित नर्भिक अस्पतालको इमेरजेन्सीमा ल्याइएको थियो । घाइतेमध्ये उपचारपछि ३३ जना सोमबार साँझ नै घर फर्किएका थिए । गम्भीर घाइते तीन नगर प्रहरीको भने अहिले पनि उपचार जारी छ ।