इस्लामावाद । स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले मुद्रास्फीति नियन्त्रणका लागि शुक्रबार आफ्नो प्रमुख नीतिगत ब्याजदरमा १६ प्रतिशतले वृद्धि गरेपछि पाकिस्तानमा ब्याजदर २४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।
केन्द्रीय बैङ्कले समितिको बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘मुद्रास्फीतिको दबाब सोचेभन्दा बढी र निरन्तर रहेको एमपिसीको आँकलनमा आधारित भएर यो निर्णय गरिएको हो ।’
डनका अनुसार, यस परिवर्तनसँगै एसबिपी ब्याजदर यस वर्षको लागि कुल ६२५ आधार बिन्दुमा वृद्धि भएको छ । यो दर अक्टोबर र सेप्टेम्बरमा अपरिवर्तित थियो ।
दक्षिण एसियाली मुलुक अहिले आर्थिक सङ्कटमा परेको र गम्भीर आर्थिक तथा राजनीतिक सङ्कटमा रहेको र वित्तीय नोक्सानीलाई नियन्त्रण गर्नु समयको माग भएको अवस्थामा यो निर्णय लिइएको हो ।
एसबिपीले मुद्रास्फीति, बढ्दो घरेलु र अन्तर्राष्ट्रिय आपूर्ति समस्याको कारण प्रेरित भइरहेको छ, जसले लामो आर्थिक मन्दीको बिचमा मूल्यलाई बढावा दिइरहेको छ ।
एक्सप्रेस ट्रिब्युनका अनुसार यी अभावले व्यापक मूल्य र ज्यालामा असर पारिरहेको छ, जसले मध्यम अवधिको वृद्धिलाई क्षति पुर्याउन सक्छ र मुद्रास्फीतिको अनुमानलाई कमजोर पार्न सक्छ ।
भिषण बाढी र बजेट नियन्त्रण कायम गर्ने प्रयासका बाबजुद, राष्ट्र निरन्तर उच्च मुद्रास्फीतिसँग जुधिरहेको छ । उपभोक्ता मूल्य सूचकाङ्क (सिपिआई) ले अक्टोबरमा २६.६ प्रतिशत को वार्षिक वृद्धि रेकर्ड गरेको छ ।
गत अगस्टमा आएको विनाशकारी बाढीले एक हजार ७०० भन्दा बढी मानिसको ज्यान लिनुका साथै अर्बौं डलरको क्षति पुर्याएको थियो ।
द एक्सप्रेस ट्रिब्युनका अनुसार पाकिस्तानले आर्थिक वर्ष २०२२ मा करिब ३० अर्ब अमेरिकी डलर रेमिटेन्स प्राप्त गरेको थियो तर पनि उसले आफ्नो चालु खाता घाटालाई नियन्त्रणमा राख्न सकेन ।
पाकिस्तानलाई विदेशी दायित्व विरुद्ध भुक्तानी गर्न यस आर्थिक वर्षमा लगभग ३२ अर्ब अमेरिकी डलर आवश्यक छ ।
विदेशी दायित्व मात्र होइन, बढ्दो मुद्रास्फीतिले पनि स्थानीय जनताका लागि जीवनयापनको खर्च निकै कठिन बनाइरहेको छ । (रासस/एएनआई)