काठमाडौँ । पाल्पाको तानसेन नगरपालिका ६ जनप्रिय मावि मतदान केन्द्रमा ६८ मत खसेपछि पुनः मतदान भएको छ ।
कर्मचारीको गल्तीले मतपत्र सटपट भएपछि यसअघिको सबै मत रद्ध गरी पुनः मतदान गर्ने सहमति भएको हो ।
समानुपातिक तर्फको मतपत्र प्रदेश र प्रतिनिधि सभामा सटपट भएपछि मतदान प्रभावित भएको थियो ।
बिहान खसेको ६८ मत रद्ध गर्ने सहमतिपछि पुनः मतदान सुचारु भएको पाल्पा प्रहरीले जानकारी दिएको छ । यसअघि
मतदान गरेका ६८ जनाले पनि पुनः मतदान गर्न पाउने सहमती भएको छ। साटफेर भएपछि विवाद भएको थियो। सर्वदलीय बैठक बसेर यस्तो सहमति गरेका हुन्।
निर्वाचनमा खटिएका कर्मचारीको गल्तीले अन्य ठाउँमा पनि यस्तो समस्या देखिएको छ । संघीय संसद र प्रदेशसभाको एकै दिन मतदान भइरहँदा मतदान केन्द्रमा निर्वाचन आयोगले खटाएका कर्मचारीहरुको लापरबाहीका कारण एउटाको मत अन्तै खसेको हो।
देशका दुई ठाउँमा संघको मत प्रदेशको बाकसमा खसेपछि समस्या भएको छ।
प्राप्त विवरण अनुसार रुपन्देहीको सालझण्डीस्थित पशुपति माध्यमिक विद्यालय केन्द्रमा कर्मचारीहरुले प्रदेशको ठाउँमा संघको मतपत्र दिएपछि विवाद भएको छ।
यस्तै, झापामा पनि यस्तै गल्ती भएको छ। प्रदेशको मतपत्र संघीयको बाकसमा र संघीयको मतपत्र प्रदेशको बाकसमा खसेको छ। झापा नगरपालिका–५ को गौरीगञ्जस्थित गौरी प्राविको मतदान त्यहीकारण स्थगित भएको छ।
धनुषाको कमला नगरपालिका–६ बिलट बौकु मावि माडन मतदानस्थलको ‘ख’ केन्द्रमा पनि कर्मचारीको यस्तै गल्ती मतदान रोकिएको छ।
यसैगरी सप्तरी क्षेत्र नम्बर २ को राजविराज नगरपालिका–११ स्थित स्वास्थ्यचौकी मतदान केन्द्र ‘क’ मा पनि प्रतिनिधि सभातर्फको मत पत्रको ठाउँमा प्रदेश सभाको दिइएको छ।