बैङ्कक । चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया–प्रसान्त क्षेत्रका समुदायको भावनालाई अनुसरण गर्दै साझा भविष्यसहितको एसिया–प्रसान्त समुदायतर्फ निरन्तर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रपति सीले एसिया–प्रसान्तका बासिन्दाहरू एउटै डुङ्गामा यात्रा गर्ने यात्रुसरह एकअर्काको हेरचाह गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
थाइल्यान्डको राजधानी बैङ्ककमा उनन्तिसौँ एसिया–प्रसान्त आर्थिक सहयोग (एपेक) आर्थिक नेताहरूको बैठकलाई सम्बोधन गर्दै सीले भन्नुभयो– ‘एसिया–प्रसान्त क्षेत्र हाम्रो घर हुनुका साथै विश्वव्यापी आर्थिक विकासको शक्तिकेन्द्र पनि हो । बितेका दसकमा यस क्षेत्रमा बलियो आर्थिक सहयोगले “एसिया–प्रसान्त चमत्कार” सिर्जना गरेको छ, जसको विश्वभर प्रशंसा गरिएको छ ।’
राष्ट्रपति सीले अन्तर्राष्ट्रिय निष्पक्षता र न्याय कायम गर्न र शान्ति र स्थिरताको एसिया–प्रसान्त क्षेत्र निर्माण गर्न राष्ट्रहरूलाई आग्रह गर्दै पारस्परिक सम्मान, ऐक्यबद्धता र सहयोगको महत्त्वलाई विशेष जोड दिन सम्मेलनमा सहभागी नेताहरूसँग आग्रह गर्नुभयो ।
उहाँले खुलापन र समावेशिताप्रति प्रतिबद्ध रहन र एसिया–प्रसान्त क्षेत्रका सबैका लागि समृद्धि ल्याउन सामूहिक प्रतिबद्धताका लागि आह्वान गर्नुभयो ।
एसिया–प्रसान्त सहयोगलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेर्नुपर्ने, क्षेत्रीय सहयोगको मुख्य च्यानलको रूपमा एपेकको भूमिकालाई कायम राख्नुपर्ने र एसिया–प्रसान्त सहयोगलाई सही दिशामा लैजानुपर्ने उहाँले बताउनुभयो । (रासस/सिन्हवा)





