काठमाडौं । चुनावको मौका छोपेर बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै बजारमा हरेक उपभोग्य वस्तुको मूल्य १५ प्रतिशत भन्दा बढीले बढेको हो ।
सरकारको सम्पूर्ण ध्यान मंसिर ४ गतेको निर्वाचन केन्द्रित हुँदा उपभोक्ता भने बजारमा अत्याधिक रुपमा बढेको मूल्य वृद्धिको मारमा परेका छन् । सरकारका बजार नियमनकारी निकायका कर्मचारीहरु समेत निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुशी मूल्य तोक्न लागेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले दशैँ–तिहारपछि मात्रै दैनिक उपभोग्यका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य १५ प्रतिशतले बढेको बताउनु भयो । उहाँले पछिल्लो समय खाने तेल, दाल, चामल मात्रै होइन नभएर हरेक खाद्यान्न लगायत अन्य वस्तुको समेत मूल्य बढेर आएको बताउनु भयो । पूर्वअध्यक्ष बज्राचार्यले पछिल्लो एक वर्षमा ३० प्रतिशत भन्दा बढी मूल्य वृद्धि भएको बताउनु भयो । उहाँले दशैँ—तिहारको समयमा २४० रुपैयाँमा पर्ने थालेको खानेतेल अहिले बजारमा २८० रुपैयाँ पुगेको जानकारी दिनुभयो । उहाँले सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर ४० रुपैयाँले मूल्य बढेको बताउनु भयो ।
उहाँले भारत सरकारले नेपालमा चामल आयातमा प्रतिबन्ध लगाएपछि मात्रै एक बोरा चामलमा ४०० रुपैयाँसम्म बढेको बताउनु भयो । उहाँले भारतले धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत कर १५–२० दिन पहिले नै हटाइ र चामलको मूल्य घटेर आएपनि नेपाली चामल मिलवालाले भने अहिलेसम्म पुरानो मौज्दात भन्दै अझै महँगोमा चामल बिक्री गरिरहेको बताउनु भयो ।
बज्राचार्यले बजारमा उपभोग्य वस्तुको मूल्य बढ्नुको कुनै कारण नभएर ठूला व्यापारीहरुले चुनावमा पार्टीहरुलाई दिएको चन्दा असुल गर्न निर्वाचनकै अवसरमा वस्तुको मूल्य वृद्धि गरेको आरोप लगाउनु भयो । उहाँले निर्वाचनको समयमा सरकारी कर्मचारी निर्वाचन केन्द्रित भएको मौकामा बजारमा उपभोग्य वस्तुको मूल्य बढाउनु अस्वाभाविक भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले जसरी बजारमा वस्तुको मूल्य बढेको छ त्यो अस्वाभाविक हो । अहिले मूल्य बढ्नुको कारण युक्रेन र रुसको युद्ध पनि होइन । डलरको मूल्य बढेर पनि होइन । चुनावको लागि ठूला व्यापारीहरुको खर्च र पार्टीहरुलाई चन्दा दिन्छ । चन्दा असुल्नको लागि पनि ठूला व्यापारीहरुले आफ्नो उत्पादनको मूल्य बढाएको देखिन्छ । अहिले तेलको मूल्य बढ्यो तेलको मूल्य बढ्नुपर्ने कारण छैन । निर्वाचनको समय बनाएर सरकारले बजार अनुगमन पनि नगर्ने देखेर चुनावको अवसरमा फाइदा लिनको लागि खाद्य वस्तुको मूल्य बढाएका छन् । सरकारले उपभोक्ताको हीतमा चासो राखेको छैन । सरकारले उपभोक्ताहरुको हीतमा काम गर्ने हो भने बजारमा अत्याधिक रुपमा बढेको मूल्य वृद्धि नियन्त्रण गर्नुपर्छ । अनुगमन गर्ने निकाय बजारमा कुनै वस्तुको मूल्य वृद्धि भए उपाभोक्ता हीत संरक्षण विभागले खुद्रा पसलमा गएर अनुगमन गर्छ । सरकार ठूला व्यापारीहरुकामा अनुगमन गर्न जान सक्दैन । जसले मुल्य वृद्धि गर्छ उसलाई अनुगमन गर्नसक्दा बजारमा मूल्य वृद्धि हुनु स्वाभाविक भयो ।’
उहाँले सरकारले उपभोक्ताको हीतमा चासो नराखेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । बज्राचार्यले उपभोक्ताहरुको हीतमा काम गर्ने हो भने बजारमा भएको अत्याधिक मूल्य वृद्धि सरकारले नियन्त्रण गर्ने बताउनु भयो । उहाँले अनुगमन गर्ने निकाय उपाभोक्ता हीत संरक्षण विभाग बजारमा कुनै वस्तुको मूल्य वृद्धि भए खुद्रा पसलमा गएर अनुगमन गर्ने तर ठूला व्यापारीहरुकोमा अनुगमन गर्न जान नसक्दा बजारमा मूल्य वृद्धि भइरहने बताउनु भयो ।