सुर्खेत । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन १५ वर्षसम्म जाने दाबी गर्नुभएको छ ।
मंगलबार पाँचदलीय गठबन्धनले सुर्खेतको मेहेलकुनामा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेताद्वयले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री देउवाले गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहने भन्दै त्यसमा कसैले शंका नगरेर गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा नदिएको अधिकार प्रयोग गरेर दुई पटक संसद विघटन गरेको आरोप लगाउनुभयो ।
उहाँले संसदमा संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले जित्न आवश्यक रहेको बताउनुभयो ।
‘ओलीले संसदलाई अंगभंग गर्न खोजे’ देउवाले भन्नुभयो, ‘जनतालाई हामी के विश्वास दिलाउन चाहन्छौं भने हामीले कुनै पनि हालतमा संसद भंग गर्दैनौं। संसदलाई पूर्ण कार्यकाल राख्छौं ।’
ओलीको अहंकारका कारण वामगठबन्धन टुट्यो : प्रचण्ड
यस्तै, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी ओलीसँग अब कुनै सहकार्य नहुने भन्दै गठबन्धन १५ वर्ष जाने दाबी गर्नुभयो ।
गठबन्धन १५ वर्ष जाने छ र देशमा शान्तिको नयाँ युगको सुरुवात हुने छ’ उहाँले भन्नुभयो, ‘हाम्रो संकल्प १५ वर्षसम्म गठबन्धन कायम राखेर लैजाने छ ।’
प्रचण्डले अंहकारीरूपमा केपी शर्मा ओली उदाएपछि वाम गठबन्धन टुटेको बताउनुभयो । प्रचण्डले परिवर्तनको रक्षाका लागि यो गठबन्धन भएको दाबी गर्नुभयो। साथै संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र समृद्धिको लागि बनाइएको उहाँको भनाई थियो ।