बुटवल । रुपन्देहीमा राष्ट्रिय जनमोर्चाले जिल्लास्तरीय समानुपातिक उम्मेदवार प्रचार अभियान सम्पन्न गरेको छ । २०७९ कात्तिक २५ गते देवदह नगरपालिकाको चरङ्गेबाट सुरु भएको उक्त अभियान कात्तिक २८ गते बुटवल चोकमा कोणसभा गर्दै समापन भएको हो ।
अभियानमा राजमो केन्द्रीय सल्लाहकार तथा रुपन्देही जिल्लाअध्यक्ष बद्रे आलम, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, प्रतिनिधि सभामा राजमोकी समानुपातिक उम्मेदवार इन्दिरा ज्ञवाली, राजमो नेता मीनु थापालगायतका साथीहरू नियमित सदस्यको रूपमा हिँड्नुभएको थियो भने स्थानीय स्तरमा राजमोका विभिन्न नेता–कार्यकर्ताहरू सहभागी हुनुभएको थियो ।
अभियानको क्रममा कतिपय कार्यक्रममा केन्द्रीय उपाध्यक्ष जनकराज शर्माको पनि उपस्थिति रहेको थियो ।
अभियान टोलीले रुपन्देही प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को चरङ्गेलगायतका विभिन्न स्थान, रोहिणी र ओमसतियाका विभिन्न स्थान, क्षेत्र नं. ३ अन्तर्गत सिद्धार्थनगर नगरपालिका शुद्धोदन र सेमलार, क्षेत्र नं. ५ को हरैया बजार, गर्गरे, सालझन्डी, बाँसगढी, बेलवहिया, हात्तिबजार, आमी, रामपुर तथा क्षेत्र नं. २ को मुर्गिया, रानीबगिया, तामनगर, बेलबास हुँदै बुटवल चोकमा अभियानको अन्तिम कार्यक्रम सम्पन्न भएको थियो ।