काठमाडौँ । ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायमै रहने भएको छ ।
२०७९ कात्तिक २८ गते सोमबार सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि न्यायाधीश कुमार चुडालको इजलासले दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिएपछि उनको उम्मेदवारी कायमै रहेको हो ।
निर्वाचन आयोगले लाभको पदमा रहेको भन्दै डा. तोसिमाको उम्मेदवारी खारेज गरिदिएपछि तोसिमाले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश चुडालको इजलासले आयोगको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको थियो ।
उक्त अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले सर्वोच्च अदालतमा भ्याकेट दिएका थिए । सो निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश खतिवडा र श्रेष्ठको इजलासले पनि तोसिमा लाभको पदमा रहेको मान्न नमिल्ने ठहर गरेको छ ।
निर्वाचन आयोगले तोसिमा नेपाल मेडिकल काउन्सिलको सदस्य रहेको र उनले सरकारी कोषबाट बैठक भत्ता बुझ्ने हुनाले उनको पद लाभको पद किटान गरी उम्मेदवारी खारेज हुने निर्णय गरेको थियो । तर अदालतले आदेशमा नियमित तलब नभएर अनुगमन भत्ता बुझेकाले त्यसलाई लाभको पदमा बसेको भन्न नमिल्ने फैसला गरेको छ ।
