काठमाडौं। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका पूर्वसभापति अग्रज पत्रकार कौशल पाण्डेको ७५ वर्षको उमेरमा निधन भएको छ ।
कलेजोमा क्यान्सर भई ६ महिनादेखि उपचार गराइरहेका पाण्डेको २०७९ कात्तिक १० गते बिहीबार साँझ ५:४५ बजे हेटौंडा उपमहानगरपालिका ४ स्थित निवासमा निधन भएको हो ।
पत्रकार पाण्डेको निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको महासंघले विज्ञप्तिमार्फत जनाएको छ ।
विसं २००४ मंसिर १५ गते उदयपुरको सिरूवानीमा जन्मेका पाण्डे हेटौँडामा रही पत्रकारितामा सक्रिय थिए। वि।संं २०४० सालदेखि रौतहटबाट हिमालबास मासिक पत्रिकाबाट पत्रकारिता सुरु गरेका पाण्डेले २०४२ सालमा हेटौंडाबाट प्रयास त्रैमासिक साहित्यिक पत्रिकाको प्रकाशन आरम्भ गरेका थिए। हाल साप्ताहिक रूपमा हेटौंडाबाटै प्रकाशन हुँदै आएको उक्त पत्रिकामा आवद्ध रहेका पाण्डे हेटौंडा सन्देश दैनिकको संस्थापक सम्पादकसमेत थिए।
उनको निधनबाट नेपाली पत्रकारिता जगतले एक योग्य र अनुभवी पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको महासंघले जनाएको छ। मृतक पाण्डेका श्रीमती, एक छोरा र एक छोरी छन्।
यसैगरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य टेक मास्की रानाको निधनप्रति पनि महासंघले दु:ख व्यक्त गरेको छ।
मास्कीको ४८ वर्षको अल्पायुमै उपचारको क्रममा कात्तिक ९ गते बुधबार निधन भएको हो। डेंगु संक्रमित भई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत रहेकै अवस्थामा मिर्गौला र जण्डिसको समेत समस्या देखिएको थियो।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका९३ बिर्घा स्थायी घर भएका राना बुटवलमा रही सक्रिय पत्रकारितामा गर्दै आएका थिए। बुटवलस्थित रेडियो जागरणमा समाचार प्रमुखको रूपमा कार्यरत रानाको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जावान पत्रकार गुमाएको महासंघले जनाएको छ। स्वर्गीय रानाका दुई छोरी र एक छोरा छन्।