हेम बिजी
तिम्रो अनुहारमा
एक चिम्टी पनि नैतिकता देखिएको छैन
सारा अनुहार
भरिएको छ चरित्रहीन अनैतिकताले
तिमीसँग
इज्जत
इमान्दारिता
र इमान
एक चिम्टी पनि बँचेको छैन
त्यसैले
जनतासँग
कसरी माग्छौ मत ?
युगौँ युग
देश डुबाएर तिमी मात्र
किनारमा उत्रियौ
राष्ट्र जलाएर आगो ताप्यौ
तिमी
आफ्नो स्वार्थी आशा र आकांक्षा
भरिपूर्ण पार्न
देश डुबायौ
राष्ट्र जलायौ
त्यसैले
जनतासँग
कसरी माग्छौ मत ?
तिम्रो
सिङ्गो राजनैतिक जीवन
राष्ट्रघातका खतै खतले ढाकेको छ
संघीयता
एमसीसी
एसपीपी
र राष्ट्रघाती नागरिकता
अनेकौँ अनगन्ती
राष्ट्रघातका आला खतहरु बोकेर
जनतासँग
कसरी माग्छौ मत ?
तिम्रो
जिन्दगीको धेरै भाग
सिंहदरबार भित्रै बित्यो
अर्थात
सत्तामै बस्यौ
सत्तामै खायौ
र सत्तामै निदाएर रङ्गिन सपना देख्यौ
तर
एक रात पनि
देखेनौ पीडित जनता सपना
त्यसैले
जनतासँग
कसरी माग्छौ मत ?
सधैँ सधैँ
लगाउन सक्दैनौ जनताको आँखामा
कालो पट्टी
भुलाउन सक्दैनौ
चुनावी गुलिया भाषणले
पिरो मन
सधैँ सधैँ
लुकाउन सक्दैनौ
भ्रम र भ्रष्टाचार
त्यसैले
जनता जागेको जमनामा
जनतासँग
कसरी गर भन्छौ मतदान ?
कसरी माग्छौ मत ??

