अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि तेहरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि आक्रमण गरे इरानका ५२ वटा स्थानलाई तत्काल निसाना बनाएर कडा प्रत्युत्तर दिने चेतावनी दिएका छन् । ट्रम्पले अमेरिकाले थप जोखिम नचाहेको भन्दै ट्वीट गरेका छन् ।
इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानी शुक्रवार भएको अमेरिकी ड्रोन आक्रमणमा बग्दादमा मारिएपछि ट्रम्पको त्यस्तो भनाइ आएको हो ।
इरानले सुलेमानीको मृत्युको प्रतिशोध लिने उद्घोष गरिसकेको छ ।
शनिवार बग्दादमा सुलेमानीको शवयात्रामा हजारौँ मानिस सहभागी भएका थिए । त्यसको केही बेरपछि शवयात्रा गरिएको क्षेत्रमा केही विस्फोटहरू भएका थिए ।
ग्रीन जोनमा अमेरिकी दूतवासनजिकै एउटा क्षेप्यास्त्र खसेको थियो । अमेरिकी सैनिकहरू बस्ने ठाउँ भएको राजधानीको उत्तरी क्षेत्रमा पनि क्षेप्यास्त्र आक्रमण भएको थियो ।
तर ती घटनामा कोही घाइते नभएको इराकी सुरक्षास्रोतहरूले बताएका छन् । ती आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन। तर इरानपक्षधर लडाकुहरूलाई त्यसको दोष लगाइएको छ ।
ट्रम्पले अमेरिकी पक्षमाथि आक्रमण भए अमेरिकाले ‘इरानका ५२ वटा स्थानलाई निसाना बनाउने’ र त्यो ‘धेरै छिटो र धेरै कडा’ हुने सामाजिक सञ्जाल ट्विटरमा लेखेका हुन् । बीबीसी