बागलुङ बजार । निरन्तरको वर्षाका कारण बागलुङको निसीखोलामा एक बालविकास केन्द्रसहित एक घर भत्किएको छ ।
निसीखोला गाउँपालिका–६ स्थित नरमला बालविकास केन्द्रको तीनकोठे पक्की भवन र शौचालय पहिराले बगाएको हो ।
सोही वडाको भल्कोट गाउँमा लालबहादुर बुढामगरको घर र गोठ पहिराले पुरिँदा लाखौँको धनमाल क्षति भएको छ । पहिराले बालविकास केन्द्र बगाउँदा त्यहाँ अध्ययन गर्ने बालबालिका समस्यामा परेको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष हेमबहादुर बुढामगरले बताउनुभयो । वर्षाले बालविकास केन्द्रसँगै विभिन्न बस्तीसमेत पहिराको जोखिममा परेको उहाँले जानकारी दिनुभयो ।
‘पहिरोले बालविकास केन्द्र र शौचालय बगाएको छ । त्यो जोखिम ठाउँमा पनि थिएन । लगातारको वर्षाले गर्दा अचानक तलदेखि गएको पहिराले बगाएको छ’ अध्यक्ष बुढामगरले भन्नुभयो– ‘अब कक्षा सुरु हुने बेला भयो । बालबालिकालाई कहाँ व्यवस्थापन गरेर सिकाउने हो ? पालिकामा पनि कुरा राख्छौँ ।’
उहाँका अनुसार पहिराले लालबहादुरको घरगोठ पुरिँदा रु १५ लाख बढीको धनमाल क्षति भएको छ । पहिराले घरगोठसँगै अन्नपात, लत्ताकपडा, चार गोरु, एउटा भैँसी, एउटा राँगो र छ ओटा बाख्रासमेत पुरिएको अध्यक्ष बुढामगरको भनाइ थियो । पहिरोपीडित लालबहादुरले अहिले छिमेकीको आश्रय लिएर बसेको बताउनुभयो ।
पहिरो आउने बेला आफूहरू बाहिर काम गरिरहेको हुँदा ज्यान बचाउन सफल भएको उहाँको भनाइ थियो । ‘पहिराले मेरो सबै धनसम्पत्ति बगायो । लत्ताकपडा, पशुचौपाया केही छैनन् । सबै पु¥यो । अहिले त आफन्तकोमा बसेका छौँ’ लालबहादुरले भन्नुभयो– ‘हामीमाथि त दैव लाग्यो । अहिले घर न घाटको बनायो, यस्तो झरीको बेला ।’ (रासस)