कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका वडा नं. ३ ले लिङ्गेपिङ संरक्षणका लागि अनुदान दिएको छ ।
बडादसैँँमा टीकाको दिन भुइँ छोड्नुपर्ने (पिङ चढ्नुपर्ने) परम्परागत मान्यताका कारण पिङ संस्कृतिको महत्त्व रहेको भन्दै सो वडाले अनुदान दिएको हो ।
गैँडाकोट ३ नं. वडाले आफ्नो वडामा पिङ बनाउन प्रोत्साहन गर्दै प्रतिपिङ पाँच हजार रुपियाँ दिने निर्णय गरेको छ ।
‘बडादसैँँ तिहारमा पिङ राख्नु खेल्नु परम्परा नै हो तर पछिल्लो समयमा प्राविधिको विकाससँगै यस्ता मौलिकता हराउँदै छन्’ वडाध्यक्ष शिवकान्त तिवारीले भन्नुभयो– ‘फूलपातीको अघिल्लो दिनसम्म गाउँमा कहिँ कतै पिङ हाल्ने सुरसार नदेखेपछि वडाले पिङ बनाउन पाँच हजार रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।’
गैँडाकोट वडा नम्बर ३ मा रहेका प्रत्येक टोल सुधार संस्थामा एक÷एकओटा पिङ निर्माण गर्न पनि उहाँले अनुरोध गर्नुभयो ।
‘पिङ राखेको प्रमाणसहित वडा कार्यालयमा पुगेपछि कार्यालयले टोल सुधारलाई पाँच हजार रुपैयाँ सहयोग गर्ने छ’ उहाँले भन्नुभयो– ‘यो हाम्रो परम्परादेखि चलेको संस्कृति संरक्षणका लागि वडा कार्यालयले सानो प्रयास गरेको हो ।’ बडादसैँँको पर्यायवाची जस्तै बनेको पिङ गाउँघरबाट हराउन नदिनका लागि सबै समुदाय लाग्नुपर्ने तिवारीको भनाइ छ । (रासस)