काठमाडौँ । भारतीय अधैसैनिक सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोय लाल थाओसेन यही असोज ११ गते नेपाल आउँदैछन् ।
सशस्त्र प्रहरी र एसएसबीबीच आयोजना हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन थाओसेन नेपाल आउन लागेका गृह मन्त्रालय स्रोतले जनाएको छ । बैठक असोज ११ देखि १३ गतेसम्म काठमाडौँमा आयोजना हुनेछ ।
सीमा सुरक्षा रणनीतिबारे छलफल हुने बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले टोलीको नेतृत्व गर्नेछन् ।
बैठकमा सीमा अपराध नियन्त्रण, एपीएफ र एसएसबीबीच सूचना आदानप्रदान लगायत अन्तरदेशीय सीमा सुरक्षाका सबै विषयमा छलफल हुने भएको छ।
नेपाल र भारतका सीमा सुरक्षा बलबीच सहकार्य बढाउन र सीमा सुरक्षाका मुद्दामा छलफल गर्ने उदेश्यले सन् २०१२ देखि सीमा सुरक्षा बलका प्रमुखको तहमा द्विपक्षीय बैठक आयोजना गर्न थालिएको थियो ।यसअघि सन् २०२१ को अगस्टमा भारतको नयाँ दिल्लीमा पाँचौँ बैठक आयोजना भएको थियो ।
नेपाल र भारतबीच १८१८ किलोमिटर लामो खुला सीमा छ। नेपाल–भारत तथा नेपाल–चीन सीमामा सशस्त्र प्रहरी बलका जवान खटिने गरेका छन् भने भारतका तर्फबाट एसएसबीका जवान नेपाल र भुटानसँगको सीमा क्षेत्रमा खटिने गरेका छन्।
भारतीय एसएसबीले नेपाली नागरिकलाई सीमामा दुर्व्यवहार गरेको घटना बारम्बार दोहोरिने गरेका छन् ।
पछिल्लोपटक २०७८ असारमा भारतीय एसएसबीका जवानले तुइन काटिदिँदा महाकाली नदी तर्दै गरेका नेपालका जयसिंह धामीको मृत्यु भएको थियो । उक्त विषयमा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएर अनुसन्धान गर्न माग गरे पनि भारतले त्यसलाई कुनै चासो दिएन ।
नेपाल भारत सीमा सुरक्षा बल बैठकमा सीमा समस्यासँगै जयसिंह धामीको विषय उठान हुने अपेक्षा गरिएको छ ।
तुइन प्रकरण : बेपत्ता धामीको शव १० दिनपछि ड्रोन क्यामेराले खोज्दै