जापान । गायिका अमृता श्रीपालमाथि जापानमा भएको दुर्व्यवहार प्रकरणमा सहमति भएको छ ।
गायिकामाथि दुर्व्यवहार गर्ने जापानको ओसाका कोबेमास्थित धौलागिरि दोहोरी साँझका सञ्चालक धनबहादुर थापाले आफूबाट गल्ती भएको स्वीकार गर्दै १० लाख रुपैयाँ क्षतिपूर्ती दिन सहमत भएपछि विवाद मिलेको हो ।
नेपालबाट उक्त दोहोरी साँझ आएकी गायिका श्रीपालले बुधबार त्यसका सञ्चालक थापाले यौन दुर्व्यवहारका साथै मार्ने धम्की दिएको भन्दै मोना जापान र प्रतिष्ठान जापानमा न्यायका लागि निवेदन दिएकी थिइन् ।
बिहीबार मोनो एसिया प्यासेफिक संयोजक दीपक कार्की, एनआरएन खान्साई संयोजक दिलीप शर्मा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाका सदस्य कुलवीर थापालगायत सरोकारवाला व्यक्तिहरूको रोहबरमा भएको छलफलमा दुई पक्षबीच सहमति भएको हो।
यस क्रममा गायिका श्रीपालले पाउनुपर्ने पारिश्रमिक १० लाख रुपैयाँमध्ये १ लाख अग्रिम भुक्तानी भइसकेको र बाँकी ९ लाख रुपैयाँ आगामी अक्टोबर १६ तारिखसम्ममा सञ्चालक थापाले मोना जापानको खाता नम्बरमा जम्मा गर्नुपर्ने सहमति भएको छ। साथै गायिका श्रीपाललाई नेपाल फिर्ता हुने हवाई टिकटको व्यवस्था पनि दोहोरी साँझले गरिदिनुपर्ने सहमति गरिएको छ ।
उक्त सहमतिबमोजिम अब यस विषयमा कुनै पक्षले कहीँ कतै कुरा नगर्ने प्रतिवद्धता गरिएको छ।
