विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले आज मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्वासी र भूमिहीन दलित गरेर ३६ वटा लालपुर्जा वितरण गर्नु भएको छ ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङ मार्फत कानेपोखरी गाउँपालिकाको वडा नं. ६ का २७ भूमिहीन सकुम्वासी र ९ भूमिहीन दलित घरपरिवारलाई मन्त्री श्रेष्ठले लालपुर्जा वितरण गर्नुभएको हो ।
मन्त्री श्रेष्ठले यही वर्षभित्रमा गाउँव्लक, पुनः नापी र विशेष नापीबाट बाँकी सम्पूर्ण गाउँव्लकमा लालपुर्जा वितरण गरिसक्ने गरी काम तिब्र पारिएको भन्दै २ वर्षभित्र भूमिसम्बन्धी सबै खालका समस्या समाधान गरिसक्ने प्रतिवद्धता पुरा गरिछाड्ने बताउनुभयो ।
मन्त्री श्रेष्ठले भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई लालपुर्जा वितरणको काम भोट माग्ने र राजनीति गर्नका लागि नभई नागरिकलाई संविधानमा लिपिबद्ध गरिएका हक कार्यान्वयनका लागि सरकारले गरिरहेको नियमित काम भएकाले निर्वाचन आचारसंहिताले यसलाई छेक्न नहुने पनि बताउनुभयो ।