रिसव आचार्य/टेकराज भुसाल, बुटवल ।
अखिल (छैठौं) रुपन्देहीले विशेष सङ्गठनात्मक अभियान उद्घाटन गरेको छ ।
जिल्लामा रहेका विभिन्न विद्यालय तथा क्याम्पसमा समसामयिक मुद्दालाई सम्बोधन गर्दै २०७९ भदौ २५ गते कालो ब्यानर झुन्ड्याएर अभियानको सुरुवात गरिएको हो ।
ब्यानरमा सङ्घीयता, राष्ट्रघाती एमसिसी, एसपिपी र नागरिकता विधेयक खारेज गर !, शैक्षिक माफियाकरण, शैक्षिक क्षेत्रमा निजीकरण तथा राजनैनिक भागबन्डा अन्त्य गर !, मूल्यवृद्धि, कालोबजारी र भ्रष्टाचार अन्त्य गर !, अखिल (छैठौं) जिन्दावाद ! लगायतका नारा लेखिएको थियो । ब्यानर बुटवल बहुमुखी क्याम्पस, सिद्वार्थ गौतम बुद्ध क्याम्पस, कान्ति मावि, लुम्बिनी वाणिज्य क्याम्पस, नवीन औद्योगिक मावि, कालिका मानवज्ञान माविलगायत बुटवलका विभिन्न विद्यालय तथा क्याम्पस/कलेजको मूलगेटमा राखिएको छ ।
अखिल (छैठौं) केन्द्रीय समितिको निर्णयानुसार भदौ २५ देखि असोज १० गतेसम्म विशेष सङ्गठनात्मक अभियान सुरुवात गरेको अखिल (छैठौं) का जिल्ला अध्यक्षले सागर बेल्बासेले जानकारी दिनुभएको छ ।
कार्यक्रममा अखिल (छैठौं) केन्द्रीय सदस्य रिसव आचार्य, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष सागर बेलबासे, केन्द्रीय सदस्य तथा जिल्ला सहसचिव टेकराज भुसाल, जिल्ला उपाध्यक्ष कुलचन्द्र शर्मा, जिल्ला सदस्य दीपा विश्वकर्मा, कल्पना थापाक्षेत्री, क्षितिज क्षेत्रीलगायतका जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।
