काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले दुर्घटना बाजा बजाएर नआउने बताउनुभएको छ ।
नागरिकता विधेयकबारे राष्ट्रियसभाको २०७९ भदौ १७ गतेको बैठकमा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
नागरिकता गम्भीर विषय भएको उल्लेख गर्दै उहाँले यसबारे गम्भीर हुनुपर्ने बताउनुभयो ।
‘दुर्घटना बाजा बजाएर आउँदैन’ सांसद विश्वकर्माले भन्नुभयो– ‘दुर्घटना हाम्रै गल्ती–कमजोरीबाट निम्तिने हुन् ।’
उहाँले नागरिकताको सवालमा कुनै पनि त्रुटि वा गल्ती–कमजोरी नगर्न संसद्को ध्यानाकर्षण गराउनुभयो । त्यसो गरिएमा त्यसबाट राष्ट्र र राष्ट्रियता दुर्घटनामा पर्ने उहाँको भनाइ थियो ।
राष्ट्रपतिप्रति धन्यवाद, प्रमुख प्रतिपक्षको आलोचना
सम्बोधनको क्रममा सांसद विश्वकर्माले राष्ट्रपतिले नागरिकता विधेयकलाई संसद्मै फिर्ता पठाइदिएकोमा स्वागत गर्नुभयो तर प्रमुख प्रतिपक्षले अपेक्षाअनुरूप भूमिका नखेलेकोमा भने आलोचना गर्नुभयो ।
‘सम्माननीय राष्ट्रपतिज्यूले नागरिकता विधेयक पुनः संसद्मै फिर्ता पठाउनुभयो’ उहाँले भन्नुभयो– ‘म उहाँको यस्तो कदमप्रति धन्यवाद दिन चाहान्छु ।’
सांसद विश्वकर्माले अगाडि भन्नुभयो– ‘प्रमुख प्रतिपक्षीले नागरिकता विधेयकमाथिको छलफलको क्रममा उठाएका कतिपय कुरा सही थिए तर उसले जिम्मेवार भूमिका खेल्न सकेन ।’
‘प्रमुख प्रतिपक्षीले चाहेको भए नागरिकता विधेयकलाई रोक्न सक्दथ्यो तर उसले त्यसो गर्न चाहेन’ उहाँको ठम्याइ थियो ।
राष्ट्रिय सहमति कायम गरियोस्
सांसद विश्वकर्माले नागरिकताको विषयलाई हल्का रूपमा नलिन आग्रह गर्दै भन्नुभयो– ‘नागरिकताको विषयलाई हल्का रूपमा होइन, गम्भीर रूपमा लिनुपर्दछ । यस विषयमा राष्ट्रिय सहमति कायम गरिनुपर्दछ ।’
‘जस्तो हामीले गत कालमा संविधान जारी गर्दा, नेपालको वास्तविक नक्सा जारी गर्दा राष्ट्रिय सहमति कायम गरेका थियौँ’ उहाँले भन्नुभयो– ‘अहिले नागरिकता विधेयकको विषयमा त्यही खालको राष्ट्रिय सहमति कायम गरिनुपर्दछ ।’
सम्बोधनको क्रममा उहाँले खालि तराई मधेसको विषयमा मात्र होइन, तिब्बती, भुटानी र हाल आएर रोहिङ्ग्या शरणार्थीलगायतको समस्यालाई सम्बोधन गरी राष्ट्रिय सहमतिसहितको परिमार्जित विधेयक संसद्मा प्रस्तुत गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
वास्तविकता नेपालीले नागरिकता पाउन्
सांसद विश्वकर्माले वास्तविक नेपालीले नागरिकता पाउनुपर्ने विषयमा राष्ट्रिय जनमोर्चाको कुनै विरोध नभएको प्रष्ट पार्नुभयो ।
‘तराईंका वास्तविक नेपाली नागरिकले नागरिकताको प्रमाणपत्र पाउनुपर्दछ । यसमा हामी प्रष्ट छौँ’ उहाँले भन्नुभयो– ‘हाम्रो विरोध यसमा छ, कुनै पनि अनागरिकले नेपाली नागरिकता कुनै पनि हालतमा नपाउन् ।’
उहाँले एकल महिला, अलपत्र अवस्थामा रहेका नागरिकको नागरिकताबारे के गर्ने ? त्यसबाले बेग्लै छलफल गर्नुपर्ने बताउनुभयो । यस विषयमा उहाँले एउटा बेग्लै आयोग बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।
नागरिकता चुनावी वा जुँगाको लडाइँ होइन
उहाँले फास्ट ट्रयाक विधिबाट नागरिकता पारित गर्न खोजिनुको पछाडिको मनसाय प्रष्ट पार्न नागरिकता विधेयकका पक्षधरसित आग्रह गर्नुभयो ।
‘हामीले हतार हतार गरेर नागरिकता विधेयक किन पारित गर्दै छौँ ?’ उहाँले प्रश्न गर्नुभयो– ‘त्यसका पछाडि चुनावी स्वार्थले काम गरेको छ या त्यसका साथै यस विषयलाई जुँगाको लडाइँ पनि बनाइँदै छ ?’
सम्बोधनको क्रममा सांसद विश्वकर्माले नागरिकता विधेयकलाई चुनावी वा जुँगाको लडाइँ नबनाएर राष्ट्र, राष्ट्रियता र नेपाली जनताको विषय बनाउन आग्रह गर्नुभयो ।
फिजीबाट शिक्षा सिकौँ
मन्तव्यको क्रममा उहाँले फिजीबाट पाठ सिक्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो ।
फिजीमा योजनाबद्ध प्रकारले भारतीय नागरिकता प्रदान गरिएको सन्दर्भलाई जोड्दै उहाँले भन्नुभयो– ‘अन्ततः फिजीमा भारतको मध्यप्रदेशबाट गएका महेन्द्र चौधरी त्यहाँका प्रधानमन्त्री बन्न पुगे । हामीले त्यसबाट पाठ सिक्नुपर्दछ ।’
राजमो नागरिकता विधेयकको विपक्षमा
राजमो सांसद विश्वकर्माले अहिले राष्ट्रियसभामा प्रस्तुत गरिएको नागरिकता विधेयकको विपक्षमा आफू र आफ्नो पार्टी रहेको प्रष्ट पार्नुभयो ।
‘म र मेरो पार्टी राष्ट्रिय जनमोर्चा वर्तमान नागरिकता विधेयकको विपक्षमा छ’ उहाँले भन्नुभयो– ‘मतदान भएको खण्डमा मैले विपक्षमा मतदान गर्ने जानकारी गराउन चाहान्छु ।’