काठमाडौं । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ । आगामी मंसिर ४ गते तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमाले–राप्रपा मिलेर जान सहमत भएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच भएको भेटपछि सैद्धान्तिक सहमति जुटेको राप्रपाका एक नेताले बताए । दुई पार्टीबीच चुनावी तालमेलको मोडालिटी र निर्वाचन क्षेत्र बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको छ ।
पाँच दलीय गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरेपछि एमाले र राप्रपाबीच मिलेर जाने समझदारी बनेको हो ।
गएको स्थानीय तहको चुनावमा पनि कतिपय स्थानीय तहमा एमाले र राप्रपाबीच तालमेल भएको थियो। एमालेसँगको तालमेल अनुसार राप्रपाले प्रत्यक्षका कम्तीमा १० सिट पाउने सम्भावना छ ।
सहमति अनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन झापा ३ मा उठ्नेछन् भने उपाध्यक्ष विक्रम पाण्डे चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्नेछन् । सो क्षेत्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र पनि हो ।
एमालेले राप्रपाबाट उम्मेदवार बन्ने राप्रपा नेताहरुसहित रवीन्द्र मिश्रलाई पनि सहयोग गर्ने छ । मिश्रको पार्टी विकेशील साझा र राप्रपाबीच एकता हुने तयारी भइरहेको छ ।