काठमाडौं । महाशक्तिराष्ट्र शोभियत संघका अन्तिम नेता मिखाइल गोर्भाचोभको निधन भएको छ । गोर्बाचोफको ९१ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ।
गोर्बाचोफ ५४ वर्षको उमेरमा सोभियत कम्युनिस्ट पार्टीको महासचिव अनि सोभियत संघका नेता बनेका थिए । त्यतिखेर शक्तिशाली पोलिटब्यूरोमा उनी सबैभन्दा कान्छा सदस्य थिए ।
उनी सन् १९८५ देखि सन् १९९१ सम्म नेतृत्वमा रहे।
तत्कालीन सोभियत कम्युनिस्ट पार्टीका महासचिव गोर्बाचोफले सोभियत संघलाई खुला गर्ने नीति अँगाले। तर उनले सोभियत संघको विघटन रोक्न सकेनन्।
सोभियत संघको आधुनिकीकरणका निम्ति भनेर ल्याइएको उक्त नीतिले यस्तो शृङ्खलाबद्ध घटनाक्रम निम्त्यायो कि त्यसले अन्ततः सोभियत सङ्घकै विघटनसम्म पुर्यायो।
यद्यपि त्यसले शीतयुद्धको पनि अन्त्य गर्न पनि सहयोग गर्यो।
पश्चिमा जगत्मा उनलाई सुधारका प्रणेता मानिन्छ जसले सन् १९९१ मा शीतयुद्ध अन्त्य गर्ने आधार निर्माण गर्यो । तर, कतिपय रुसीहरूले सोभियत सङ्घको विघटनका कारण गोर्बाचोफलाई कहिल्यै माफी दिएनन्।
गोर्बाचोफको निधनप्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गहिरो समवेदना व्यक्त गरेको क्रेम्लिनका प्रवक्ताले जनाएका छन्।