सुर्खेत । कर्णाली प्रदेशमा माओवादी केन्द्रले पार्टीबाट निर्वाचित सबै सांसदलाई मन्त्री बनाएको छ । १० जना सांसद निर्वाचित गराएको माओवादीले एक जना गैर सांसदसहित ११ जनालाई मन्त्री बनाएको हो ।
सोमबार थपिएका माओवादी केन्द्रका दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएसँगै सबै सांसदले मन्त्री बन्ने भाग पर्याएका छन् । प्रदेश प्रमुख तिलक परियारले दुई मन्त्रीलाई शपथ ग्रहण गराए ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजनामन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकासमन्त्रीमा रातो कामीलाई नियुक्त गरेर प्रदेश प्रमुखको कार्यालयका नाम पठाएका थिए ।
यसअघि माओवादीले आफ्ना सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर मन्त्री बन्न बाँकी सांसद शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री समक्ष सिफारिस गरेको थियो ।
रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाहको शपथग्रहणसँगै कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)बाट प्रतिनिधित्व गर्ने ११ जना माओवादी प्रदेश सांसदमा एक जना उपसभामुख, एक जना गैर–सांसद मन्त्री गरेर जम्मा ११ जना मन्त्री बन्न सफल भएका छन् ।