खिमबहादुर विक, प्युठान ।
राष्ट्रिय जनमोर्चाको तर्फबाट प्युठानमा विजयी दलित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । शुक्रबार राजमोको पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि सम्मानित गरिएको हो ।
जातीय समता समाज प्युठानको आयोजनामा जिल्लाको ९ वटा स्थानीय तहमा निर्वाचित २१ जना दलित जनप्रतिनिधिलाई सम्मान गरिएको हो ।
राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधि अरु पार्टीको जनप्रतिनिधि भन्दा अलग हुनुपर्ने बताउनु भयो । उहाँले जनप्रतिनिधि झन अनुसासित र आफुलाई नमुनाको रुपमा प्रस्तुत गर्दै भविश्यका पार्टीको नेता बनेर देश र जनताको सेवा गर्नुपर्ने बताउनु भयो ।
नेता खत्रीले जनताको सुख–दुखको सारथि बन्दै राष्ट्रियता र जनजीविकाको पक्षमा आफ्ना आवाज बुलन्द पार्न सदैव अग्रपंक्तिमा रहन निर्देशन दिनु भयो ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष मीन बहादुर खत्री, राजमो लुम्बिनी प्रदेश सदस्य सरिता जिसी, अखिल नेपाल महिला संघ प्युठान जिल्ला उपाध्यक्ष हुमा पोख्रेल, जातीय समता समाज लुम्बिनी प्रदेश सदस्य बिनोद कुमार बिक, अखिल नेपाल शिक्षक संघ जिल्ला सदस्य गोर बहादुर बिक,जिल्ला समन्वय सदस्य रेकम रसाइली लगायतले शुभकामना दिनु भएको थियो ।
जनप्रतिनिधिहरुलाई नेता खत्रीले दोसल्ला ओढाएर सम्मान गर्नुभयो भने जातीय समता समाजका जिल्ला अध्यक्ष समसेर परियारले टीका लगाई दिनु भएको थियो ।
समाजका जिल्ला अध्यक्ष समसेर परियारको अध्यक्षता तथा सचिव भिरेन्द्र बिकको सञ्चालनमा अघि बढेको कार्यक्रममा स्वागत सहसचिव खिमबहादुर विकले गर्नुभएको थियो ।