काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणका व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) टंक कार्कीले सुन तस्करी आरोपमा थुनामा परेका व्यक्तिसँग घुस मागेपछि छानबिनमा तानिएका छन् ।
गृहमन्त्रीका पीएसओ प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) कार्कीलाई प्रहरी प्रधान कार्यालय तानेर छानबिन थालिएको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिनुभयो ।
उहाँले सुन तस्करीमा संलग्न व्यक्तिसँग हिरासतबाटै चार लाख रुपैयाँ लिएको आरोप छ ।
सुन तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरेर गौशला वृत्तमा राखिएको थियो। असार १६ गते पक्राउ परेका अभियुक्त असार २७ गते छुटेका थिए ।
दुबईबाट ६ जनाले ५० ग्रामका दरले सुन ल्याएको तर ती एक जनाले मात्रै सम्बन्धित व्यक्तिलाई नदिएपछि उनी पक्राउ परेका थिए ।
अन्य ५ जनाले भने सम्बन्धित व्यक्तिलाई सुन बुझाएको बताइएको छ । कार्कीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले डीएसपीको कमाण्डमा समिति बनाएको छ । उनी विरुद्ध प्रहरी महानिरीक्षकको सचिवालयमा उजुरी परेको थियो ।