जीवन शाही, वीरेन्द्रनगर । डिभिजन वन कार्यालय सुर्खेतमा मृत्यु भएका धनीराम लामिछानेका आफन्तले वन कार्यालयका सहायक वन अधिकृतसहित चार जना विरुद्व किटानी जाहेरी दिएका छन् ।
आफन्तले २०७९ भदौ ३ गते शुक्रबार सहायक वन अधिकृत कृष्णराम धिताल, फरेस्टर सन्तोष खत्री, वनरक्षक पियूषराज तिवारी र सुरेन्द्र राना विरुद्व जिल्ला प्रहरी कार्यालय सुर्खेतमा किटानी जाहेरी दिएका हुन्।
वीरेन्द्रनगर–१३ भूतचोकका ५८ वर्षीय मृतक लामिछाने वनसम्बन्धी मुद्दामा भदौ २ गते बिहीबार पक्राउ परेका थिए । वन कार्यालयका कर्मचारीले मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने नम्बर गरिएका सालको काठ काटेको आरोपमा पक्राउ गरेका थिए ।
पहिला लामिछाने श्रीमतीलाई पक्राउ गरेका थिए भने पछि लामिछानेलाई पक्राउ गरी वन कार्यालयले वन कार्यालयमा लगेपछि कुटपिट गरि मारेको आरोप लगाउँदै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पेस गरेको किटानी जाहेरीका निवेदक वीरेन्द्रनगर नगरपालिका–१३ का मृतकका छोरा उत्तम लामिछाने हुन् । उनले कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गराएका हुन् ।