काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको कार्यतालिका स्वीकृत गरेको छ ।
निर्वाचन आयोगले आन्तरिक तयारीका क्रममा सोमबार स्वीकृत गरेको निर्वाचन कार्यतालिका अनुसार असोज २३ गते आइतबार प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन हुनेछ ।
समानुपातिक तर्फको बन्दसूची भने असोज २ र ३ गते पेस गर्नुपर्ने छ ।
आयोगले भदौ २५ देखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । दसैंका बेलामा पनि काम जारी राख्ने आयोगले जनाएको छ ।
घटस्थापनाको भोलिपल्ट, अर्थात् असोज ११ गते निर्वाचन अधिकृतहरुको नियुक्ति गरिने छ भने टीकाको दुई दिनपछि असोज २१ गते निर्वाचन कार्यालय स्थापना गरिने स्वीकृत कार्यतालिकामा उल्लेख छ ।
उम्मेदवारी दर्ता गर्ने दिन असोज २३ गते दसैँको कोजाग्रत पूर्णिमा पर्दछ ।
दसैँसँग जुधाएर बनाइएको आन्तरिक तालिकालाई सामान्य फेरबदल गरेर प्रकाशित गरिने आयोगका एक अधिकारीले बताए ।
यस्तो छ निर्वाचनको कार्यतालिका
समानुपातिकतर्फ
भदौ १– निर्वाचन कार्यक्रम सञ्चालन
भदौ २०– मतपत्र छपाइ सुरु
असोज २ र ३– बन्दसूची पेस गर्ने
कात्तिक २७– मतपत्र ढुवानी
मंसिर १– प्रचार प्रसारमा बन्द
मंसिर ४– बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान।
प्रत्यक्षतर्फ
भदौ २५– निर्वाचन कार्यक्रम सञ्चालन
असोज ११– निर्वाचन अधिकृतहरुको नियुक्ति
असोज २१–निर्वाचन कार्यालय स्थापना
असोज २३– उम्मेदवारी दर्ता
असोज २८ देखि कात्तिक २५ गतेसम्म– मतपत्र छपाइ
कात्तिक २७– मतपत्र ढुवानी
मंसिर १ – प्रचार प्रसार बन्द
मंसिर ४– बिहान ७ गतेदेखि साँझ ५ बजेसम्म मतदान