काठमाडौं । पाँचदलीय गठबन्धनका नेताहरुले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गर्ने सरकारले तयारी गरिरहेको बेला बुधबार अपरान्ह बसेको पाँच दलको शिर्ष तहको बैठकले गठबन्धन निरन्तरता दिने र चुनावको मिति घोषणा गर्न अर्को बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकले यही साउन २० शुक्रबार गठबन्धनको बैठक बोलाउने निर्णय गरेको छ । सोही बैठकले चुनावको मिति तय गर्ने जनाइएको छ ।
गठबन्धनलाई निरन्तरता दिने सहमतीसहित आगामी शुक्रबार बिहान साढे नौ बजे बैठक बस्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाली कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।
बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल,नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी र नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनु भएको थियो ।
बैठकमा नेताहरुबीच मुलुकको पछिल्लो राजनीतिक परिस्थितिको बारेमा पनि छलफल भएको थियो ।