काठमाडौं । अमेरिकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणले चीन–अमेरिका तनाव बढेको छ । चीनको विदेश मन्त्रालयले बेइजिङ स्थित अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर सो भ्रमणको विरोध गरेको छ ।
चिनियाँ उप–विदेशमन्त्री से फेङले पेलोसी भ्रमणको प्रकृति ‘खराब’ भएको भन्दै गम्भीर परिणामको चेतावनी दिएका छन्। उनले चीन चुप नबस्ने बताए।
मंगललवार अबेर ताइवान पुगेकी पेलोसी बुधवार त्यहाँको संसद्मा पुगेकी छिन्। उनले ताइवानका राष्ट्रपतिसँग पनि भेट गर्ने ठानिएको छ।
अमेरिकी संसद्कको तल्लो सदनकी सभामुख पेलोसी मंगलवार ताइवान पुगेपछि चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्नसक्ने भन्दै ताइवानले त्यसको तयारी गरिरहेको बीबीसीले जनाएको छ ।
पलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुन् । उनी बेइजिङको लामो समयदेखि आलोचक रहँदै आएकी छन्।
चीनले उक्त भ्रमणविरुद्ध बारम्बार चेतावनी दिँदै आएको छ। चीनले उक्त भ्रमणका लागि अमेरिकाले ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी पनि दिएको छ ।
ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ। चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्ने गर्छ।
चीनले ताइवान र मुख्य चिनियाँ भू–भागको अनौपचारिक विभाजन रेखामाथि युद्धक विमानहरू उडाएको छ।
यता, ताइवानको रक्षा मन्त्रालयले उक्त टापु नजिकै भइरहेको सैन्य गतिविधिबारे आफू पूर्ण जानकार रहेको र चिनियाँ धम्कीबाट आफूलाई बचाउन पूर्ण कटिबद्ध रहेको जनाएको छ।
चीन–ताइवान सम्बन्ध
सन् १९४० को दशकको गृहयुद्धमा चीन र ताइवान अलग भएका थिए। तर चीनले ताइवानलाई आफूसँग छुट्टिएको एक प्रान्त भएको र आवश्यक परे शक्ति प्रयोग गरेर भए पनि गाभ्नुपर्ने बताउँदै आएको छ।
ताइवानको आफ्नो संविधान, प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित नेता र कूल तीन लाख सैनिक छन्।
ताइवानलाई थोरै देशले मात्रै मान्यता दिएका छन्। अमेरिकाको ताइवानसँग आधिकारिक दौत्य सम्बन्ध राखेको छैन तर टापु राष्ट्रलाई आफ्नो रक्षा गर्न साधन प्रदान गर्ने कानुन पारित गरेको छ।
नेपालको ‘एक चीन नीति’ प्रति चीन सन्तुष्ट
चीनले नेपाल ‘एक चीन नीति’मा दृढतापूर्वक उभिएकोमा उच्च प्रशंसा गरेको छ । आगामी दिनमा पनि एक चीन सिद्धान्तमा नेपालको समर्थन कायमै रहने विश्वास चीनको छ ।
चिनियाँ राजदूत होउ यान्छीले बुधबार विज्ञप्ति प्रकाशित गरी नेपालले लामो समयदेखि ‘ताइवान स्वतन्त्रता’ को मुद्दामा दृढतापूर्वक विरोध गरिरहेकोमा उच्च प्रशंसा गरेकी हुन् ।
अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणले चीन र अमेरिकाबीच सम्बन्ध तनावको शिखरमा पुगेका बेला काठमाडौंस्थित चिनियाँ राजदूतले होउले बुधबार विज्ञप्ति जारी गरी ताइवान मामिलामा नेपालको प्रतिबद्धता स्मरण गराएकी हुन्।
चिनियाँ राजदूत होउ यान्छीले विज्ञप्तिमा भनेकी छन् ‘चीन र नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, भरपर्दा मित्र र साझेदार हुन्। दुई देशले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डतासम्बन्धी मूल हितका मुद्दाहरूमा सधैं एकअर्कालाई बुझ्छन् र समर्थन गरिरहेका छन्। चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ताइवान स्वतन्त्रताको दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्छ।’