काठमाडौं । विवादित नागरिकता विधेयक र एमसीसी संसदबाट जवर्जस्ती पास गराएका प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उनकै कार्यक्रममा नाराबाजी भएको छ ।
सोमबार राष्ट्रिय विभूति भीमसेन थापा समृति प्रतिष्ठानले गरेको एक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पुगेका देउवाविरुद्ध नाराबाजी भएको हो ।
विदेशबाट बिहे गरेर आउने महिलालाई तत्कालै नागरिकता दिने गरी बनेको नागरिकता विधेयक संघीय संसदको तल्लो सदनबाट पास भएर माथिल्लो सदनमा सोमबार छलफल भएलगत्तै देउवाले विरोधको स्वर सहनु परेको हो।
प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको उक्त कार्यक्रममा अन्य वक्ताहरूले बोलिसकेपछि बोल्नका लागि देउवालाई उद्घोषकले मञ्चमा बोलाए।
देउवा कोट मिलाउँदै मञ्चबाट पोडियमतर्फ अघि बढ्नेबित्तिकै हलको पछिल्लो ढोकातिरबाट ‘नागरिकता विधेयक खारेज गर, खारेज गर’ एमसीसीका मतियार भन्दै प्लेकार्डसहित केही युवाले नाराबाजी गरे।
एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं र स्वाधीनताको रक्षा गरौँसहितका चर्का नारा लगाएका तीन जना युवकलाई प्रहरीले पक्रिएको छ।
त्यसपछि देउवालाई सुरक्षाकर्मी र स्वयम् सेवकले पोडियममा पुर्याएका थिए। उनले विरोधकाबीच कार्यक्रममा आफ्ना भनाई राखे ।