काठमाडौं । नयाँ राष्ट्रपति निर्वाचनका लागि श्रीलंकामा आज (बुधबार) मतदान हुँदैछ । राष्ट्रपति चयनको निर्वाचनमा २२५ सांसदले मतदान दिन पाउँछन् ।
राष्ट्रपतिका लागि तीन जनाबीच प्रतिष्पर्धा हुँदैछ । ५० प्रतिशतभन्दा बढी सांसदको मत पाउने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था छ।
राष्ट्रपतीय निर्वाचनमा रनिल विक्रमसिङ्घ, प्रतिपक्षी दल समर्थित डल्लस अलाहपेरुम र वामपन्थी न्याश्नल पिपुल्स पावर पार्टीका नेता अनुरा कुमार दिशानायकबीच त्रिपक्षीय प्रतिस्पर्धा हुन लागेको छ।
प्रधानमन्त्री रनिल विक्रमसिङ्घ लाई सत्तारूढ दलले उम्मेदवार बनाएको हो। राजपक्षसँग निकटता भएको भन्दै प्रदर्शनकारीहरूले विक्रमसिङ्घको पनि बहिर्गमन चाहेका छन्।
प्रधानमन्त्री विक्रमसिङ्घलाई प्रमुख प्रतिपक्षी दलले समर्थन गरेका डल्लस अलाहपेरुमले कडा चुनौती दिएका छन्। उनी सत्तारूढ दलका विद्रोही सांसद हुन्।
विक्रमसिङ्घसहित श्रीलङ्काको राजनीतिक नेतृत्वको राजीनामा माग गरिरहेका प्रदर्शनकारीहरूको भिड सरकारी भवनहरूमा प्रवेश गरेर कब्जा गर्न थालेपछि गत साता गोटाबय माल्दिभ्स भागेका थिए।
यसअघि छ पटकसम्म प्रधानमन्त्री भइसके पनि कुनै पटक पूरा अवधि काम नगरेका विक्रमसिङ्घ राष्ट्रपतिका लागि अघि सरेका सबैभन्दा विवादित उम्मेदवार हुन्। उनी राष्ट्रपति भएको अवस्थामा प्रेमदासले प्रधानमन्त्रीको जिम्मेवारी पाउन सक्ने बताइएको छ ।
देश चरम आर्थिक संकटमा फसेपछि सुरु भएको विरोध प्रदर्शनका कारण पदासीन राष्ट्रपति गोटाबय राजपक्षले भागेर विदेशबाट राजीनामा दिएपछि श्रीलंकाको संसद्मा नयाँ राष्ट्रपति छान्न मतदान हुन लागेको हो ।
श्रीलङ्का टाट पल्टने अवस्थामा पुगेको छ। आयात र आपूर्ति हुन नसकेकाले त्यहाँ खानेकुरा, इन्धन र अन्य आधारभूत वस्तुको गम्भीर अभाव छ।
गोटाबय राजपक्षको सरकार र दुई दशकसम्म देशको नेतृत्व लिएको राजपक्ष परिवारलाई देशको वर्तमान आर्थिक सङ्कटका लागि दोषी मानिएको छ।
दक्षिण भारतनजिकै रहेको टापु राष्ट्र श्रीलंका सन् १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो। त्यहाँको जनसङ्ख्या २.२ करोड छ । तीनवटा जातीय समुदाय सिन्हाला, तमिल र मुस्लिमले देशको ९९ प्रतिशत हिस्सा ओगट्छन् ।





