काठमाडौं । नेपालले स्वीकार गरेको विवादित अमेरिकी सहायता परियोजना एमसीसीबारे अमेरिका र चीनबीच फेरि आरोप–प्रत्यारोप भएको छ ।
नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले ‘चीनको दुस्चक्रलाई तोड्दै नेपालले एमसीसी पास गरेको’ भनेपछि चीनले आपत्ति जनाएको हो ।
नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार विज्ञप्ति नै निकालेर थम्पसनको भनाईप्रति आपत्ति जनाएको छ।
थम्पसनले बुधबार अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समितिमा सुनुवाइका क्रममा बोल्दै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता नेपाली संसदबाट अनुमोदनका क्रममा चीनले भ्रम फैल्याएको आरोप लगाएका थिए । प्रस्तावित राजदूत थम्पसनले भनेका थिए, ‘चीनको दुष्प्रचारबीच एमसीसी अनुमोदन हुनु अमेरिका र नेपालबीचको सम्बन्धको उपलब्धि हो ।’
चिनियाँ दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा नेपालका लागि प्रस्तावित अमेरिकी प्रस्तावित राजदूतको भनाइप्रति निन्दा गरिएको छ । अमेरिकी प्रस्तावित राजदूत थम्पसनको भनाइ सम्पूर्ण रुपमा आधारहीन रहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
‘अमेरिकी पक्षको भनाइ चीनमाथिको मिथ्या आरोप मात्रै नभई नेपाल र नेपाली जनताको पनि मानहानी हो। वास्तवमा अमेरिकी पक्षको भनाइ चाहिँ सही अर्थमा भ्रमपूर्ण छ। जुन भनाइको चीन डटेर अस्वीकार गर्दछ’, दूतावासको विज्ञप्तिमा भनिएको छ।
नेपालले एमसीसी अनुमोदन नगरे नाकाबन्दी लगाउने अमेरिकी धम्की पछि नेपालले केही महिनाअघि एमसीसी स्वीकार गरेको थियो । तर जसरी पनि रोक्ने चीनको प्रयत्न थियो । यही रस्साकस्सीबीच प्रमुख राजनीतिक दलहरुले १२ बुँदे ब्याख्यात्मक घोषणा गरेर संसदबाट एमसीसी अनुमोदन गरेका थिए ।
चिनियाँ दूतावासले अमेरिकाले नेपालमाथि जबर्जस्ती एमसीसी थोपर्न खोजेको आरोप त्यतिबेलै लगाएको थियो । शुक्रबार जारी विज्ञप्तिमा पनि दूतावासले अन्तर्राष्ट्रिय विकास सहयोग लागू हुँदा पारस्परिक सम्मान र समानताको सिद्धान्तलाई कायम हुनुपर्ने तथा सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गरिनुपर्ने आफ्नो विश्वास रहेको दोहोर्याएको छ ।
‘कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप हुनु हुँदैन भन्ने चीनको दृढ विश्वास छ। कुनै पनि राजनैतिक स्वार्थहरु जोडिएर आउनु हुँदैन र कुनैपनि खालको जबरजस्ती कूटनीति र निहित स्वार्थका लागि अन्य देशको सार्वभौमसत्ता र हितमा आँच पुग्ने काम गरिनुहुँदैन भन्नेमा चीन विश्वास राख्छ’ दूतावासले भनेको छ।