काठमाडौं । काठमाडौंको बल्खुस्थित टाटा सुमो काउन्टरमा विचौलियको रुपमा यात्रुलाई झन्झट दिने १० जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–९ घर भएका ३० वर्षीय हरि बहादुर पाण्डे, उदयपुरको लिल्बुजुंग गाउँपालिका–४ घर भएका २२ वर्षीय संजय तामाङ, भारतको बिहार राज्य पाहाडपुर पोटवा थाना वडा नं ८ घर भइ हाल काठमाडौं बस्ने वर्ष २९ को राकेश कुमार श्रीवास्तव रहेका छन् ।
यस्तै, कैलालीको धनगढी नगरपालिका–१६ घर भएका २१ वर्षीय राजु थापा, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ घर भएका २९ वर्षीय आकाश तामाङ, पर्साको वीरगन्ज महानगरपालिका–१५ घर का ३५ वर्षीय राजिव कुमार सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ।
यस्तै, प्रहरीले नियन्त्रणमा लिएका थप व्यक्तिमा सिन्धुलीको कमलामाई नगरपालिका–१३ घर भएका ३० वर्षीय नितिश जंग राणा, सर्लाहीको लालबन्दी नगरपालिका–४ का २९ वर्षीय रबिन्द्र चौधरी, ईलाम श्रीनन्द नगरपालिका–३ का २९ वर्षीय दोर्जे गुरुङ र काठमाडौंको दक्षिणकाली नगरपालिका–१ बस्ने वर्ष–४० का राम तामाङ रहेका छन्।
प्रहरी वृत्त कालिमाटीबाट परिचालित प्रहरी टोलीले उनीहरुलाई यात्रुलाई हैरानी दिइरहेको अवस्थामा पक्राउ गरेको हो । ती व्यक्तिहरुले लाग्ने भाडा भन्दा बढी भाडा लिई जबर्जस्ती यात्रुलाई तानी बाधा अवरोध गर्ने र अनावश्यक दुःख हैरानी दिने गरेका कारण नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सो घटनाको सम्बन्धमा पक्राउ परेका १० जना उपर मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को ‘अभद्र व्यवहार गर्न नहुने’ कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ