काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको अधोगतिलाई नरोक्ने हो भने नेपाल श्रीलंका भन्दा पनि तल पुग्न सक्ने बताउनुभएको छ । सोमबार राजधानीमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै ओलीले यस्तो बताउनुभएको हो ।
देशमा देखिएको अर्थतन्त्रको असहज परिस्थितिलाई रोक्न नसक्ने हो भने नेपाल पनि श्रीलंकाको अवस्थामा पुग्ने भन्दै देशको बारेमा सबै चिन्तित हुनपर्ने ओलीले बताउनुभयो ।
ओलीले भन्नुभयो, ‘बजेटमा यत्रो बदमासी अर्थमन्त्रीले मात्र गर्न सक्दैन्। अर्थमन्त्री एउटैको मात्र त्यो चल्दैन । अर्थमन्त्रीको पृष्ठपोषणमा या हतियार खरिद प्रकरणमा गरिने सन्दर्भमा त्यसले यो विषय त्यति सहज छैन भन्ने देखाउँछ ।’
यदी अहिलेको अवस्थामा ब्रेक नलगाए यसको प्रभाव कम्तिमा श्रीलंकासम्म पुग्ने ओलीको दाबी छ ।
उहाँले भन्नुभयो, ‘त्यसको प्रभाव कम्तिमा श्रीलंकासम्म पुग्ने लक्षण देखिन्छ। यही ढंगमा जाने र यो अधोगतीमा ब्रेक लगाइन भने श्रीलंका पुग्छ। यदी ब्रेक लगाइएन भने त्यो भन्दा उँधो खस्छ ।’
आफ्नै पार्टी जोगाउन सकिएन, गल्ती भयो
ओलीले देशको अहिलेको अवस्था आउनुमा आफ्नो पनि कमजोरी रहेको बताउनुभयो ।
‘देशको सबैभन्दा ठूलो पार्टीको अध्यक्षको हैसियतले कमजोरी छैन भन्न सकिँदैन,’ ओलीले भन्नुभयो, ‘हिजो आफ्नै पार्टी जोगाउन सकिएन। त्यस्तो अवस्था हाम्रो तर्फबाट कुनै कमीकमजोरी छैन भन्न मिल्दैन।’
अध्यक्ष ओलीले महंगीको मारले जनताको ढाड भाँचेको भन्दै त्यस्ता कामबाट जनतामा वितृष्णा बढेको टिप्पणी गर्नुभयो ।
‘महंगीको मारले जनताको ढाड भाँचेको छ। यस्तो अवस्थामा त्यस्ता कामहरुबाट जनतालाई दल र राज्यप्रतिको वितृष्णाको अवस्था कसले बनाएको छ भन्न सकिन्छ,’ ओलीले भने, ‘यो अवस्था अहिलेको गठबन्धनले बनाएको छ।’
ओलीले यदी एमालेले चाहेको खण्डमा यसअघि नै अहिलेको सत्तारुढ गठबन्धन टुटिसक्ने दाबी पनि गर्नुभयो ।
‘यदी गठबन्धन जस्तो पनि जसरी बनाए हुन्छ भनेर एमाले ठान्थ्यो भने यो गठबन्धन उहिले नै टुटिसक्थ्यो र अर्को बनिसक्थ्यो’ ओलीले भन्नुभयो, ‘गठबन्धनका लागि गठबन्धन अथवा संख्यात्मक परिवर्तन ल्याउन सकिन्छ र सरकार परिवर्तन ल्याउन सकिन्छ भन्ने होइन, परिस्थितिमा परिवर्तन ल्याउने मुख्य कुरा हो ।’