काठमाडौं । राष्ट्रिय जनमोर्चा नवलपुरका उपाध्यक्ष विकाराम चौधरी पक्राउ पर्नुभएको छ । गुठीको जग्गासम्बन्धी विवादमा छलफल गर्न गएका चौधरीलाई जिल्ला प्रहरी कार्यालय कावासोतीले पक्राउ गरेर हिरासतमा लिएको हो ।
चौधरीलाई प्रशासनले बिनाकारण पक्राउ गरेकोप्रति राजमो नवलपुरले आपत्ति जनाएको छ । अध्यक्ष दिपक पाण्डेले आइतबार विज्ञप्ति प्रकाशित गरी जग्गा विवादमा छलफल गर्न बोलाएर विना प्रमाण प्रशासनको ठाडो आदेशमा चौधरीलाई हिरासतमा राखेको बताउनुभएको छ ।
विज्ञप्तिमा तराईका भूमिपुत्र थारु समूदायको पराक्रम र पौरखको सम्मानस्वरुप तत्कालिन राज्यसत्ताले गुठीका रुपमा जग्गा प्रदान गर्ने गरेको स्मरण गर्दै सो सम्बन्धमा विवाद उत्पन्न भए प्रचलित कानुनका आधारमा हल खोज्न भनिएको छ ।
हिरासतमा रहेका चौधरीलाई अविलम्ब रिहाइ गर्न आग्रह गर्दै अन्यथा यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार प्रशासन हुने राजमो नवलपुरले चेतावनी दिएको छ ।

