काठमाडौं । जनता समाजवादी पार्टी, नेपालमा देखिएको विवादले पार्टी विभाजनको अवस्था सिर्जना भएको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीचको विवाद पार्टी विभाजननजिक पुगेको हो ।
जसपाका दुई पक्षबीच अब बेग्लाबेग्लै भेला बैठकहरु हुन थालेका छन् । अध्यक्ष उपेन्द्र यादवले यही असार २९ र ३० गतेका लागि बीरगञ्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएकै दिन संघीय परिषद अध्यक्ष डा. भट्टराईले काठमाडौंमा आफू पक्षको भेला बोलाउनुभएको छ।
जसपाले विज्ञप्ति प्रकाशित गरी असार १३ गते बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार असार २९ र ३० गते बस्ने बैठक यथावत रहेको जनाइएको छ। त्यही दिन डा. भट्टराईले पार्टीको नाममा भेला बोलाएको भन्दै अध्यक्ष यादव पक्षले त्यसलाई अवैधानिक भनेको छ।
‘केही अराजक एवम् गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनधिकृत रूपमा त्यही दिन जसपा, नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनि सामाजिक सञ्जाल लगायत केही सञ्चारमाध्यमबाट भ्रम फैलाइरहेको बुझिन आएको छ’ केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौंमा त्यही दिन पार्टीको यस प्रकारको कुनै पनि आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ।’
विभाजनको डिलमा पुगेको जसपामा यादवको बहुमत छ भने भट्टराई पक्ष अल्पमतमा परेको छ ।
