काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको पहिलो नगरसभा बैठकले सार्वजनिक शौचालय सञ्चालनका लागि कामपाले ३३ निजी संस्थासँग सम्झौता गरिसकेको छ । सर्वसाधारणलाई सहज होस् भनेर कामपाले सम्झौता भएका सबैमा एकै किसिमको चिह्न लगाउने काम गरिरहेको प्रशासन प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो ।
प्रयोगकर्तालाई सार्वजनिक शौचालय पहिचान गर्न सजिलो होस भनेर सबैमा एकै प्रकारको सङ्केत चिह्न राख्न लागिएको हो । चिह्न राखिसकेपछि मात्र सम्झौता भएका संस्थाको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्ने छन् ।
सङ्केत चिह्नमा गोलो घेराभित्र निलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले “सार्वजनिक शौचालय” लेखिएको छ । बिच भागमा सेतो रङमै महिला र पुरुषको चिह्न छ । सङ्केत चिह्नको पुछारमा अङ्ग्रेजी भाषामा “पब्लिक टवाइलेट” लेखिएको छ । चिह्नकै आधारमा सर्वसाधारणले शौचालय प्रयोग गर्न सक्ने कामपाले जनाएको छ ।
सम्झौताअनुसार करिब २०० शौचालय सञ्चालनमा आउने छन्, जसमा १०० मा चिह्न लगाइसकेको छ भने अन्यमा पनि जारी छ । सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका व्यावसायिक संस्थासँगको सहकार्यमा कामपाले २५० शौचालय सार्वजनिक रूपमा प्रयोगमा ल्याउन लागेको छ ।
यसरी उपलब्ध गराइएका शौचालयको मर्मतसम्भार, सरसफाइलगायत गर्ने जिम्मा संस्थाकै हुने छ । शौचालयको अवस्था अनुगमन गर्न दुवै पक्षबाट एक/एक प्रतिनिधि तोकिएको छ । उनीहरूले हरेक चार महिनामा प्रतिवेदन तयार गरी बुझाउने महानगरले जनाएको छ ।