भद्रपुर । पूर्वका नेपाल–भारत सीमा २०७९ असार १० गते शुक्रबार बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएको छ । आइतबार हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) चुनावलाई लक्षित गरी शुक्रबार बिहानैदेखि सीमामा सिल गरिएको हो ।
Advertisement
झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार भारतीय पक्षले गरेको पत्राचारपछि पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा तथा भद्रपुर नाका सिल गरिएको बताउनुभयो ।
उहाँका अनुसार शुक्रबार बिहान ६ बजेदेखि सिल गरिएको नाका सोमबार बिहान ६ बजे खोलिने छ । विशेषगरी, बिरामी, असहाय र अशक्तलाई नाका वारपार गर्नुपर्ने परेमा दुवैतिरका सुरक्षा निकायको समन्वयमा गरिने उहाँको भनाइ छ । दार्जिलिङसँगै मिरिक, खरसाङ र सिलिगुडी क्षेत्रमा समेत जिटिएको चुनाव हुने जनाइएको छ ।