काठमाडौं । नेकपा (मसाल) ले गएको स्थानीय निर्वाचनको समीक्षा गरेको छ । हालै बसेको मसालको केन्द्रीय समिति बैठकले २५ बुँदामा स्थानीय निर्वाचनको समीक्षा गर्दै गठबन्धन दलहरुमा इमान्दारिता नदेखिएको बताएको छ ।
पाँचदलीय गठबन्धनमा राष्ट्रिय जनमोर्चाबाहेक अन्य दलले इमान्दारिता देखाउन नसकेको मसालको ठहर छ । कतिपय स्थानमा गठबन्धनभित्रै अन्तर्घात भएको मसालले समीक्षा गरेको छ ।
‘स्थानीय चुनावका बेलामा पाँच दलीय चुनावी तालमेलको सन्दर्भमा कैयौँ कमजोरीहरू देखा पर्ने गरेका छन् । त्यस प्रकारका कमजोरीहरू मुख्य गरेर दुई प्रकारका रहेका छन्ः प्रथम, पाँच दलीय समझदारीका विरुद्ध गएर एमालेसित पनि चुनावी तालमेल गर्ने ।
द्वितीय, चुनावी तालमेल भइसकेपछि पनि अन्य पक्षहरूसित गोप्य तालमेल गरेर अन्तरघात गर्ने वा अन्य पक्षहरूसित मतहरूको साटासाट गर्ने’ मसालले समीक्षा गर्दै भनेको छ, ‘राष्ट्रिय जनमोर्चासित तालमेल गरेपछि गठबन्धनका अन्य कतिपय पक्षहरूले धेरैजसो स्थानहरूमा इमान्दारीतापूर्वक नै मत दिने गरेका छन् । तर कतिपय स्थानहरूमा गठबन्धनका अन्य पक्षहरूबाट उक्त दुवै प्रकारका कमजोरीहरू पनि देखा परेका छन् । उक्त कारणले पनि कतिपय स्थानहरूमा प्रतिगमनलाई मदत पुग्न गएको छ ।’