काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपाली नागरिकका लागि मतदानको व्यवस्था मिलाउन माग गर्नुभएको छ ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर महामन्त्रीद्वय थापा र शर्माले विदेशमा रहेका नेपाली नागरिकका लागि मतदानको व्यवस्था मिलाउन आग्रह गर्नुभएको हो ।
महामन्त्री शर्माले भन्नुभयो, ‘हामी महामन्त्रीद्वय आज प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थियौँ। भेटमा हामीले उहाँलाई विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन आग्रह गर्यौँ ।’
विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार रहेको भन्दै सर्वोच्चले २०७४ चैतमा मतदानको व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको थियो ।
न्यायाधीश सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको इजलासले भनेको थियो, ‘वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका नेपाली कामदारहरुको मतदानको हक सुनिश्चित गर्न र सो को लागि मुलुक बाहिरबाट समेत मतदान गर्न सक्ने गरी व्यवस्था गर्नू।’ यसबारे निर्वाचन आयोगसँग मंगलबार छलफल गर्ने महामन्त्री शर्माले बताउनुभयो ।
एसपीपीको विषय ‘क्लोज’ गर्न माग
यस्तै, महामन्त्रीद्वय थापा र शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विषय ‘क्लोज’ गर्न आग्रह गरिएको बताउनुभयो । महामन्त्री शर्माले पार्टीका तर्फबाट प्रधानमन्त्री देउवासँग एसपीपीको विषय ‘क्लोज’ गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।
‘एसपीपी क्लोज गर्ने गरी संस्थागत रुपमा सरकारले केही गरोस् भन्ने कुरा प्रधानमन्त्रीसमक्ष राख्यौँ’, बालुवाटारमा भएको छलफलपछि उहाँले भन्नुभयो ।