भद्रपुर । भुटानी नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी डाक्टर भम्पा राईको निधन भएको छ । दमक–५ मा बस्दै आउनुभएका ७२ वर्षीय राईकोे विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा गत राति निधन भएको हो ।
डा राई भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका संयोजक हुनुहुन्थ्यो । राई पेटसम्बन्धी समस्याबाट लामो समयदेखि पीडित हुनुहुन्थ्यो । शनिबार दिउँसो मुटुको चालमा समस्या भएपछि उपचारका लागि उहाँलाई विराटनगरस्थित नोबल अस्पतालमा उपचारका लागि लगिएको आफन्त ईन्द्र कुँवरले बताउनुभयो ।
राई भुटानी राजाका कन्सल्टेन्ट सर्जनको रूपमा काम गर्नुहुन्थ्यो । सन् १९९१ मा भुटानबाट नेपालीभाषीलाई लखेटिएपछि उहाँ आफ्नै इच्छाले नेपाल आउनुभएको थियो ।
राईकी श्रीमती र बुबा–आमासहित नेपाल आउनुभएको थियो । आमा विष्णुमायाको २०५४ सालमा र बुबा आइतराजको २०६४ सालमा निधन भएको थियो ।
दुई वर्षअघि उहाँकी श्रीमती उर्मिलाको पनि निधन भएपछि डा राई डेरामा एक्लै बस्दै आउनुभएको थियो । गत जेठदेखि उहाँलाई नगरपालिकाले सम्मानस्वरूप दमकमा आजीवन बस्ने व्यवस्था गरिदिएको थियो ।
सन् १९९० अघि एक लाखभन्दा बढी भुटानीसगैँ शरणार्थी शिविर प्रवेश गरेका डा राईले शरणार्थीको निःशुल्क उपचार गर्दै आउनुभएको थियो । (रासस)