बुटवल । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपाली चियाको आन्तरिक बजार प्रवद्र्धन गर्ने उद्देश्यले बुटवलमा पहिलोपटक चियाको राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम सुरु भएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालमै उत्पादित चिया खाने प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै उद्घाटन गर्नुभयो ।
प्रदर्शनीमा चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि नेपालमा काम गर्दै आएका निजी क्षेत्रका नेपाल टी एसोसिएसन, हिमालयन अर्थोडक्समा टी प्रोड्युसर एसोसिएसन नेपाल, नेपाल टी प्रोड्युसर एसोसिएसन, केन्द्रीय चिया सहकारी सङ्घ, स्पेसियालिटी टी एसोसिएसन नेपालमा आबद्ध चियाका १०० बढी व्यवसायीबाट उत्पादित चियाका ब्रान्ड राखिएका छन् ।
मुख्यमन्त्री केसीले स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि प्रदेश सरकार जग्गा उपलब्ध गराउन तयार रहेको बताउनुभयो । प्रदेश सरकारले स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने नीति लिएको उल्लेख गर्दै मुख्यमन्त्री केसीले यसबाट विदेशी उत्पादन निरुत्साहित गर्न सकिने बताउनुभयो ।
उहाँले व्यवसायीलाई लुम्बिनी प्रदेशको गुल्मीलगायतका जिल्लामा उत्पादित कफीको प्रवद्र्धन र बजारीकरणका लागि लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपाली उत्पादन नेपालमा खपत भएर आर्थिक रूपमा सबल हुन सक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले विजनेस हबका रूपमा बुटवललाई चिनाउन पनि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
नेपाली चियाको गुणस्तर र स्वादका हिसाबले विश्वमै उत्कृष्ट मानिन्छ । आ.व. २०७७÷७८ मा नेपालले रु तीन अर्ब ७९ करोड मूल्य बराबरको चिया निर्यात गरेको छ ।
त्यस्तै, आव २०७७÷७८ मा नेपालमा १६ हजार ९१७ हेक्टरमा चिया रोपिएकोमा २३ हजार ७४५ मेट्रिक टन तयारी चिया उत्पादन भएको थियो । कुल १६ हजार बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक चियाको विभिन्न मूल्य शृङ्खलामा संलग्न रहेका छन । प्रदर्शनीमा ३० वटा स्टल राखिएका छन् ।