काठमाडौं । नेकपा (एमाले) का नेता डा. भीम रावलले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा देश अनिष्टतर्फ धकेलिने बतानुभएको छ ।
प्रतिनिधिसभाको आइतवार बसेको बैठकमा खर्च कटौती प्रस्ताव पेश गर्दै सांसद रावलले देशका ठूला आयोजनामा धमाधम विदेशीलाई सुम्पिएर देउवाले गम्भीर राष्ट्रघात गरेको बताउनुभयो ।
रावलले एमसीसी अनुमोदन गर्दाका बेला व्याख्यात्मक घोषणाबारे पत्राचार भए नभएकोबारे संसदमा जानकारी पेश नगरिएको भन्दै आपत्ति जनाउनुभयो ।
‘२०५२ सालमा प्रधानमन्त्री हुँदा जनयुद्ध भयो महाकाली सन्धि भयो, महाकाली भारतलाई बेचियो’ उहाँले भन्नुभयो, ‘फेरि प्रधानमन्त्री हुँदा प्रतिगमन भयो। अहिले पाँचौँ पटक प्रधानमन्त्री हुँदा प्रतिगामी कदम चालेर नदीनाला बेच्दैछन्। राष्ट्रघात गरिरहेका छन्। पाँच चोटी प्रधानमन्त्री हुँदा त यस्तो छ, सात चोटी भए भने नेपालकै अस्तित्व नरहन सक्छ।’
उहाँले सरकार मातहतको लगानी बोर्ड ठूला नदीनाला धमाधम विदेशीलाई सुम्पिएको पनि आरोप लगाउनुभयो ।
‘लगानी बोर्डले दीर्घकालीन हित नहेरी नदी नाला विदेशीलाई सुम्पिने काम भइरहेको छ’ उहाँले भन्नुभयो, ‘यसलाई बजेट चाहिँदैन खर्च कटौती गरौँ।’