नेपालगञ्ज । बाँकेमा १६ वर्षीय एक किशोरी सामुहिक बलात्कारको शिकार भएकी छन् । आफ्ना प्रेमीले जन्मदिन मनाउन बोलाएका उनलाई प्रेमीसहित ७ जनाले जवरजस्ती करणी गरेका हुन् ।
किशोरीलाई बलात्कार गरेको आरोपमा बाँके प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिकाका हेमराज थारु, निराजन थारु, बिक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु रहेका छन् ।
१७ वर्षीय हेमराज थारुको पीडित किशोरीसँग चिनजान र प्रेम सम्बन्ध थियो । उनले आफ्नो जन्मदिन मनाउन भन्दै किशोरीलाई भेट्न बोलाएका थिए ।
बाँके र बर्दियाको सिमानामा पर्ने मानखोलामा भेट्न आएकी किशोरीलाई हेमराज लगायत उनका अन्य ६ जना साथीहरुले शनिबार राति सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
किशोरीलाई मदिरा खुवाई शुरुमा मानखोलाको जंगल र त्यसपछि बैजनाथस्थित एक टहरामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ।
मदिरामा बेहोस भएकी ति किशोरीलाई दुई जना युवाले मोटरसाइकलको बिचमा राखी घर छोडिदिन हिँडेका थिए। भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा हिँडिरहेको अवस्थामा खजुरा गाउँपालिका–५ चाइना इँट्टाभट्टा नजिक प्रहरीले उनीहरुलाई रोकेको थियो। शंका लागेर उनीहरु तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। होस खुलेपछि युवतीले आफूमाथि भएको घटनाबारे बताएकी थिइन्।