दाङ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले बलियो संगठन र जनतामा राजनीतिक चेतना नभएसम्म सही जनप्रतिनिधि आउन नसक्ने बताउनुभएको छ ।
राजमो राप्ती गाउँपालिकाको आयोजनामा भएको चुनावी समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष नेपालीले संगठनलाई मजबुत बनाउन कार्यकर्ताहरुसँग आग्रह गर्नुभयो ।
‘बलियो संगठन र जनताको राजनैतिक चेतना जागरण नहुँदा सम्म सहि प्रतिनिधिले निर्वाचन जित्न सक्दैनन्’ नेपालीले भन्नुभयो, ‘तयसकारण हामीले संगठन निर्माणसँग जनतामा राजनीतिक प्रशिक्षण दिन ध्यान दिनुपर्छ ।’
कार्यक्रममा राजमो केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले अहिलेको पुँजीवाद हाबी हुने निर्वाचन प्रणालीबाट आधारभूत वर्गका जनताका प्रतिनीधि विजयी हुन गाह्रो हुने बताउनुभयो ।

उहाँले भन्नुभयो,–‘अहिलेको चुनाव धेरै महंगो छ । जनताका सेबक होइन पुजिवादका मालिकहरु निर्वाचनमा उम्मेदवार बन्ने अवस्था छ । त्यसैले पुजिवादको मालिक उम्मेदवार बन्ने चुनावबाट आधारभुत जनताका प्रतिनीधिले चुनाव जित्दैनन । तथापि जे जति उम्मेदवार साथीहरूले विजय हासिल गर्नु भएको छ । उहाँरुले जनपक्षीय काममा ध्यान दिन जरुरी छ।’
यसैगरी राजमोका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यले केहि राजनीतिक दल र तिनका नेता कार्यकर्तामा इमान्दारीताको खडेरी हुँदा निर्वाचन प्रणाली र राजनीतिकदलहरु नै बदनाम भएको कुरा बताउनु भयो ।
राजमो जिल्ला सल्लाहकार रमेसमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पालिका अध्यक्ष तथा गत निर्वाचनका उपाध्यक्ष पदका उम्मेदवार केसव खनाल, वडा नम्बर १ को अध्यक्ष पदका उम्मेदवार ठाकुर आचार्य, सदस्य बाबुराम थापा, वडा नम्बर २ का निर्वाचित सदस्य मनबहादुर पुन , वडा नम्बर ४ का निर्वाचित अध्यक्ष बिरबहादुर चौधरी , सदस्य समिता चौधरी, पार्टीका जिल्ला सल्लाहकार नरबहादुर केसी , जिल्ला सदस्य हुमा मास्के, पूर्व जिल्ला कोषाध्यक्ष हुकुमबहादुर बस्नेत, अखिल नेपाल किसान महासंघका जिल्ला उपाध्यक्ष माधव आचार्य , दधिबहादुर पाण्डे लगायतले मन्तव्य राख्नु भएको थियोे ।
पालिका सदस्य गिरबहादुर पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचीव दलबहादुर घर्तीले गर्नु भएको थियोे ।