काठमाडौँ । छ किसान सङ्गठनहरूले करकटौति गरेर भए पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेका छन् । २०७९ जेठ १५ गते संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले यस्तो माग गरेका हुन् ।
वक्तव्यमा उनीहरूले मलखाद र बिउबिजनको समस्याबाट किसानलाई मुक्त गराउन दीर्घकालीन योजना बनाउन माग गरेका छन् ।
त्यस्तै, उनीहरूले खाद्यसङ्कटको स्थिति उत्पन्न हुन नदिन खाद्यान्न निर्यात तत्कालै रोक्नुपर्ने आवश्यकतामा पनि जोड दिएका छन् ।
नेपाल एक चीननीतिप्रति प्रतिबद्ध रहनुपर्ने बताउँदै सो वक्तव्यमा केही दिनअघि अमेरिकी विदेश सहायक मन्त्रीको नेपाल भ्रमणका बेला तिब्बती शरणाथी शिविरको भ्रमण गरेकोमा त्यसको भत्र्सना गरिएको छ ।
अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर केसी, अखिल नेपाल किसान महासङ्घका महासचिव बलराम बासकोटा, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल प्रगतिशील किसान सङ्घका इन्चार्ज कृष्ण राना र अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदीको हस्ताक्षर रहेको प्रेसपिवज्ञप्तिको पूर्ण पाठ यस्तो छ :
“१. हामी अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासङ्घ, अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल प्रगतिशील किसान सङ्घ र अखिल नेपाल किसान युनियनसहितका ६ कम्युनिस्ट पार्टीसँग आबद्ध किसान सङ्गठनहरू देशभरका किसान र आम जनताको दैनिक जीवनमा गम्भीर प्रभाव पार्ने गरी भएको पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि तत्काल फिर्ता गर्न र जनतालाई राहत प्रदान गर्न नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौँ । कोरोना महामारीसँगै मुद्रास्फिति, चर्काे ब्याजदर, खाने तेललगायतका खाद्यवस्तुको चरम मूल्यवृद्धि आदि समस्याले बहुसङ्ख्यक किसान तथा आम जनसमुदायको दैनिकी चलाउनसमेत धौ धौ पर्ने अवस्था आएकोप्रति हामी संवेदनशील हँुदै सरकारलाई पेट्रोलियम पदार्थको कर समायोजन गरी मूल्यवृद्धि फिर्ता लिन र आम नागरिकको दैनिक जीवनयापन सहज बनाउन जोडदार माग गर्दछौँ ।
२. विगत लामो समयदेखि मलखाद र बिउबिजनको समस्या झेलिरहेका किसानलाई तत्काल मलखाद र बिउबिजन उपलब्ध गराउन र यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी कार्यक्रम तर्जुमा गरी लागु गर्न नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौँ ।
३. बदलिएको विश्व परिस्थितिलाई मध्यनजर गर्दै नेपालबाट अत्यावश्यक खाद्यान्न र खाद्यपदार्थको निर्यात तत्काल रोक्न र देशमा खाद्य सङ्कटको स्थिति आउन नदिन पूर्वतयारी गर्नका लागि हामी नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौँ ।
४. हामी नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धता स्मरण गराउँदै अनुमतिबिना तथा कूटनीतिक मर्यादा विपरीत अमेरिकी विदेश सहायक मन्त्रीले गरेको तिब्बती शरणार्थी शिविर भ्रमणको जोडदार विरोध गर्दै यस्ता क्रियाकलापलाई रोक्न नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौँ ।”
