काठमाडौं । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकासहित देशका विभिन्न १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । दलहरुप्रति अविश्वासको रुपमा मतदाताले स्वतन्त्र उम्मेदवार रोजेका छन् ।
काठमाडौंमा बालेन शाहको जीत सुनिश्चित भइसकेको छ । राजनीतिक दलहरुप्रतिको असन्तुष्ट मतलाई बालेन शाहले आफ्नो पक्षमा पार्न सफल भए ।
धरानमा हर्कराज राई जिते । धरानमा खानेपानीलगायतका समस्यविरुद्ध संघर्ष गर्दै आएका साम्पाङ राई धराने जनताको रोजाईमा परे ।
यता, जनकपुरधाममा कांग्रेसका बागी उम्मेदवार मनोजकुमार साह विजयी भए । गठबन्धनले जसपाका उम्मेदवारलाई साझा उम्मेदवार बनाएकोमा मतदाताले अस्वीकृत गरिदिए ।
धनगढीमा गोपाल हमालले जितेका छन् । सफल व्यवसायी हमालका एजेण्डाप्रति धनगढीबासीले विश्वास प्रकट गरे ।
बर्दिवासमा प्रल्हाद क्षेत्री विजयी भए । उनी कांग्रेसका बागी उम्मेदवार हुन् । टिकट नपाएपछि बागी उठेका उनले कांग्ररेसका आधिकारिक उम्मेदवारको जमानत जफत गरिदिए ।
जुम्लाको चन्दननाथमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत, चंखेलीमा प्यारीलाल शाही, डोल्पाको डोल्पोबुद्धमा कामी छोइवेल गुरुङ, कालिकोटको सान्ना त्रिवेणीमा मोहनबहादुर केसी, खाँडाचक्रमा कमल शाही, ओखलढुंगाको मानेभञ्ज्याङमा ज्ञानेन्द्र रुम्दाली, बैतडीको डिलासैनीमा सन्तोषप्रकाश जोशी विजयी भए ।